काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि काठमाडौं उपत्यकाका नाकाहरुबाट घर फर्किने मानिसहरुको चहलपहल तीव्र बनेको छ।
भोट हाल्न एकदिन मात्रै बाँकी रहँदा काठमाडौंबाट अन्य जिल्ला बाहिरिने नाकाहरु कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा घर फर्किने यात्रुहरुको चहलपहल तीव्र बनेको हो।
मंसिर ४ गते आइतबार (भोलि) हुने चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले शनिबार काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या उल्लेख्य देख्न सकिन्छ।
काठमाडौंको कोटेश्वरबाट भोट हाल्न गाउँ फर्किन लागेका अधिकांश मतदाताहरुले यसअघि नेताहरुले आफूले गरेका प्रतिबद्धता पूरा नगरेको र विकासका कामहरु पनि गर्न नसकेको बताए।
नेताहरुले देश विकासका लागिभन्दा आफ्ना आफन्तहरुको भरपोषण मात्रै गरेको उनीहरुको गुनासो छ। धादिङका लालबहादुर लामा भोट हाल्नको जिल्ला जाने तरखरमा शनिबार बिहानै कोटेश्वरमा गाडी कुरिरहेका थिए। उनले नेताहरुले निर्वाचनका लागि जनतालाई प्रलोभनमा पार्ने तर समग्र देशको विकास गर्न नसकेको बताए।
त्यस्तै काभ्रेपलाञ्चोकका विजय क्षेत्री अबको निर्वाचनमा सक्षम युवाहरुलाई देश विकासको अवसर दिनुपर्ने बताउँछन्। अहिलेका राजनीतिक दल र नेताहरुको काम नगर्ने शैलीप्रति असन्तुष्ट उनले युवाहरुमा नै अब देश विकासको आशा रहेको बताए।
त्यस्तै रामेछाप मतदानका लागि जान लागेका रामजी खड्का विकास गर्न सक्षम युवाहरुलाई जिताउन आवश्यक रहेको बताउँछन्। उनी पनि अहिलेका राजनीतिक दल र नेताहरुप्रति असन्तुष्ट नै छन्।
त्यस्तै काभ्रेपलाञ्चोकका गौरीशंकर गौतमको भनाइ पनि युवाहरुकोभन्दा फरक छैन। उमेरले ७० नाघिसकेका उनी युवाहरुले मात्रै अब देश विकास गर्नसक्ने बताउँछन्। नेतृत्व गर्ने ठाउँमा युवाहरु गएमात्रै देशले विकास पाउनसक्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।