काठमाडौं– मंसिर ४ गते हुन गैरहेको संघीय तथा प्रदेश सभाको चुनावको लागि ४८ घण्टा पहिले बिहीबार मध्य रातिदेखि स्थिर अवधि (मौन अवधि) सुरु भएको निर्वाचन आयोगले जनाएको छ।
तर, यही अवधिमा पैसा बाँडेर मत किन्न खोजेको भन्ने समाचारहरु देशका विभिन्न भागबाट आइरहेका छन्। महोत्तरीको बर्दिवासमा एकजना स्वतन्त्र उम्मेदवार चढेको गाडीबाट डेढ लाख रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
मतदान शब्दले मतको दानलाई बुझाउँछ। लोकतन्त्रमा मत दिने व्यक्ति नै सार्वभौम हुन्। मतले विचार नै जनाउँछ भने दानले कुनै पनि वस्तु वा हक, अधिकार कसैलाई फिर्ता नआउनेगरी दिनु भन्ने जनाउँछ।
दान धर्मसँग जोडिएको शब्द हो। धार्मिक विश्वासका आधारमा दान स्वेच्छाले दिइन्छ। त्यसमा दिनेको कुनै हक हुँदैन भन्ने मान्यता हुन्छ। जसले दान प्राप्त गरे, उसले त्यसलाई जसरी प्रयोग गरे पनि हुने र एकल अधिकार स्थापित हुने सन्दर्भलाई जनाउँछ।
प्रतिनिधि छनोटका लागि मतपत्रमा छाप लगाइ मतपेटिकामा मतपत्र खसाउने कामलाई मतदान भनिन्छ। मतदान गर्नुलाई लोकतन्त्रमा नागरिकको दायित्व मानिन्छ। आफूलाई मन लागेको उम्मेदवार वा पार्टीका उम्मेदवारहरुलाई मत दिनु मतदाताको अधिकार पनि हो।
नेपालको संविधानले पनि बालिग मताधिकारलाई सुनिश्चित गरेको छ। १८ वर्ष पुगेको वयस्कले मताधिकार प्रयोग गर्न पाउँछन्। लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचन नै एक मात्र सुन्दर पक्ष हो। दलहरु प्रतिस्पर्धाबाट बहुमत निर्माण गरेर सत्ता र प्रतिपक्षमा बाँडिन्छन्। आफूले मन परेको प्रतिनिधिमार्फत् अभिमत प्रकट गरेको हुन्छ।
लोकतन्त्रमा जनता नै सर्वोपरी हुन्छन्। देशको सार्वभौमसत्ता जनतामा निहित हुन्छ। जनतामा निहित अधिकार भनेको मतदान नै हो। त्यसैले जतिसक्दो नागरिकले यसको प्रयोग गर्छन्। यो त भयो मतदानको राजनीतिक पक्ष। मतदानको सांस्कृतिक पक्षबारे बुझ्न हामीले दुईजना संस्कृतिविद्हरुसँग कुराकानी गरेका छौं।
मतदानको गलत भाष्यले सांस्कृतिक, धार्मिक र आध्यात्मिक पक्ष नै फरक भयो : संस्कृतिविद् डा गोविन्द टन्डन
संस्कृतिविद् डा गोविन्द टन्डनका अनुसार दान शब्दको अर्थ र महत्त्व असाध्यै ठूलो छ। टन्डन भन्छन्, ‘दान भनेको अर्कालाई दिनु हो। अर्कालाई दिन पाउनु भनेको सौभाग्य हो भन्ने हाम्रो सांस्कृतिक पक्ष नै छ।’
उनका अनुसार दान विभिन्न प्रकारका छन्। दान भनेको स्वेच्छाले, आनन्दले, स्वस्फुर्त तरिकाले दिनु रहेको उनी बताउँछन्। सांस्कृतिक रुपले पनि मतदान भनेको खासमा दान नै हो।
मतदान केका लागि गरिएको भन्ने चाहि ठूलो प्रश्न हो। ‘मतदान भनेको देश विकास, समृद्धि सुव्यवस्था होस् भन्ने अपेक्षासहित मतदाताले भित्रैदेखी दिने गर्छन्। मतदाताले आफ्नो विचार, अभिमत मतपत्रका माध्यमबाट दान गरेको हो। दान दिनेको हात सधैं माथि हुन्छ्। दान दिने नागरिक हुन्। त्यसैले मतदान गर्ने जनता पनि सबैभन्दा माथी हुन्छन्,’ डा टन्डनले भने।
मतदाताको निर्णय नै अन्तिम हुन्छ। तर, यहाँ दान दिने मान्छे तल हुन्छन् तर मतदान गरेका व्यक्ति पछि माथी जाने गरेको गुनासो गर्दछन्। डा टन्डनका अनुसार सुरूमा मतदान गर्न अपिल गर्दै दलका उम्मेदवारहरु नागरिकको घर घरमा पुग्छन्।
जब मतदान भएर जितेर जान्छन्, त्यसपछि भने विस्तारै उनीहरुले आफनो कर्तव्य भुल्ने गरेको आरोप लाग्ने गरेको छ। ‘जसका कारण मतदानको सांस्कृतिक, धार्मिक र आध्यात्मिक पक्षमा विस्तारै फरकपना आउँदै गएको छ’, उनी भन्छन्।
नपाउन्जेलसम्म मेहनत गर्ने, पाइसकेपछि केहि पनि नगर्ने प्रवृत्तिले गर्दा मतदान वा दानको भाष्य नै फरक तरिकाले गएको उनले गुनासो गरे। ‘दान स्वेच्छाले दिने हो। मतदान पनि आफूलाई मन लागेको व्यक्तिलाई मात्र दिने हो। कसैको करकाप वा प्रलोभनमा दिइने मतलाई भने मतदान भन्न मिल्दैन।‘
नेपालमा मतदान गर्न स्वस्तिक छाप प्रयोग गरिन्छा। सनातन धर्ममा स्वस्तिकको अर्थ कल्याण रहेको डा टन्डनले बताए। उनी भन्छन्, ‘यो अहिले जताततै प्रयोगमा आएको हुनाले त्यसको के अर्थ छ र? त्यसले कस्को कल्याण गरेको छ भन्ने तर्क होलान्। तर यसको शाब्दिक अर्थ भनेको कल्याण नै हो।’
०००
मतदान भनेको लिनुदिनुको प्रकिया होइन : संस्कृतिविद् डा चिन्तामणि योगी
संस्कृतिविद् चिन्तामणिनाथ योगी भने दिनु भनेको कृया मात्र रहेको बताउँछन्। ‘त्यहि दिनुलाई हामीले दान भन्ने गरेको र त्यसमा विशिष्टता, पवित्रता र इमान्दारिता आयो भने दान हो’,उनी भन्छन्।
पसलको सामान दिनु भनेको पैसा लिनु हो। पसल, व्यवसायमा दिनु र लिनु दुवै हुन्छ। दान भनेको कृया त्यहि हो तर लिनु केही छैन दिनु मात्र हो।
‘त्यस्तै मतदान भनेको पनि मेरो देशको विकास, समृद्धि होस् भन्ने अपेक्षा हुन्छ तर कुनै लिनु भने छैन,’ उनी भन्छन्, ‘देशको भलो होस् बाहेक केहि चाहिएको छैन। तर कोहि सन्तुष्ट भए कि भएन भन्ने कसरी मापन गर्न सकिन्छ र रु यो अदृष्य चिज हो।’
उनका अनुसार धर्म लाभ होस् भनेर चाहने मात्र हो। बाँकी केही गर्न सकिँदैन। दान भनेको त्यसैले कुनै अपेक्षा बिना निस्वार्थ तरिकाले गरिनुपर्छ। उनी भन्छन्, ‘मतदान भनेको देशको भलाईका लागि हो। हामीले देश विकास होस् भनेर दिएको कुनै प्रतिनिधिपात्रलाई हो नि। तर दान त नेतालाई दिएजस्तो हुन थाल्यो।’
कुनै दल र पार्टीलाई नदिएको बताए। ‘उम्मेदवारले पनि मलाईभन्दा पनि यो जनता, नागरिक र देश विकासका लागि हो भन्ने बुझ्न जरुरी छ’, उनले भने।
मन्दिरमा दिइने दक्षिणा पुजारीलाई नभएको उनको भनाइ छ। राज्यको संरचना अनुसार आफ्ना प्रतिनिधिमार्फत नियम कानुन निर्माण गर्नका लागि मतपत्रमा मतदाताले मतदान गरेको उनले बताए।
मतदान लिने मान्छेले पनि यसलाई मलाईभन्दा पनि यो देशका लागि हो भन्ने बुझन जरुरी छ।
अहिले मतदान दिने लिनेका रुपमा निकै गलत भाष्य पैदा भएको गुनासो डा योगीले गरे। मतदानको महिमा नबुझ्दा एकदमै देश विकासमा ढिलाई भएको उनको बुझाइ छ। ‘मतदानको अपेक्षा भनेको पारमार्थिक हो। तर नेपालको राजनीति स्वार्थी बन्दै गएको छ,’ उनले भने।
दिनेले पनि उदारभावले र लिनेले पनि उदारभावले लिनुपर्ने उनले बताए। ‘यो मतदान लिएकोमा मेरो कर्तव्य के हो भन्ने नबुझ्नु दु:खद छ’, डा योगी भन्छन्।
उनका अनुसार मतदान स्वस्फुर्त रुपले लिनुपर्नेमा पैसाको चलखेल गरेर लिने गरेको देखिन्छ। उम्मेदवारहरुले शक्ति प्रदर्शन गरेर आफूतिर मतदान गराउने गरेको समाचारमा आउँछ। जसका कारणले मतदानको महिमा र यसको भाव भने विकृत हुँदै गएको उनले गुनासो गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।