काठमाडौं- बिहीबार दिउँसो माइतीघरदेखि बानेश्वरसम्म सडकमा केही नाराहरू बेसरी गुन्जिए। ‘मानव अधिकार सुनिश्चित गर’, ‘डोजर आतंक बन्द गर’, ‘विना विकल्प उठिबास बन्द गर’, ‘लालपूर्जा दे सरकार’ भन्दै काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका सुकुम्बासीहरू स्थायी बासको निम्ति याचना गरिरहेका थिए।
बागमती सभ्यता एकीकृत विकास समितिले गोरखापत्रमा सूचना प्रकाशन गर्दै मंसिर ४ गतेभित्र बागमती र सहायक नदी किनारामा बनाइएका टहरा भत्काउन निर्देशन दिएको थियो।
नहटाए आफैँ भत्काउने चेतावनी समितिको थियो।
‘म त्यही क्षेत्रमा जन्मे हुर्केँ। एक्कासि नगरले जा भन्दैमा कहाँ जाने ?’ बौद्धस्थित सुुकुम्बासी बस्तीमा बस्दै आएका श्याम कुमार पराजुली भन्छन्। समितिले १० दिनको अल्टिमेटम दिएपछि बस्तीका अन्य मानिससँग उनी पनि आन्दोलनमा निस्किएका थिए। श्यामका अनुसार बौद्धमा १ सय २५ सुकुम्बासी परिवार छन्। ‘विभिन्न बाहनामा यसरी पटक पटक हामीलाई दुःख दिइयो। चुनावमा हाम्रा भोट चाहिने अनि जितेर गए उल्टै हामीमाथि डोजर लगाउने ?’ श्याम आक्रोशित सुनिन्छन्।
सुदीप लामाका परिवार बौद्धको सुकुम्बासी बस्तीमा बसेको तिन पुस्ता भइसकेको छ। उनी यहीँ जन्मे। सधैं सरकारबाट दुःखमात्र पाइरहे। राजनीतिक दलका नेताले सधैँ आफूहरूको समस्यालाई चुनावी एजेण्डामात्र बनाएको उनको गुनासो छ।
‘चुनाव आउँदा बस्तीमा भोलि नै लालपूर्जा हातमा थमाउँछौं भन्दै मत तान्ने। तर लालपुर्जा नदिने । अब त कसैको गुनासो छैन,’ उनको गुनासो छ।
बस्तीमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालादेखि नै आतंक भइरहेकाले अब कडा विद्रोहमा उत्रिने चेतावनी सुकुम्बासीहरूको छ। ‘सूचना पाएदेखि बस्तीमा कोही निदाउन कसेका छैनन्,’ सुदीप दुःखेसो पोख्छन्।
सुदीपको नागरिकता छ। मतदाता नामावली पनि छ। ‘सबै हुँदा हुँदै पनि वर्षौँदेखि भोगचलन गर्दै आएको बस्तीमा लालपूर्जा किन नदिने?’ उनी प्रश्न गर्छन्।
सरकारले लालपूर्जा दिलाएर सुकुम्बासीको व्यवस्थापन गरोस् भन्ने माग उनीहरूको छ।
मनकुमारी लामा पनि ०५० सालदेखि निरन्तर आन्दोलननमा छिन्। पटक-पटक बस्तीबाट उठाउन खोज्ने सरकारले आफूहरूलाई विकल्प नखोजिदिकएको उनको गुनासो छ। मजदूरी गरेर कमाएको पैसाले बनाएको टहरो भत्कने डरमा मनकुमारीको निद्रा हराएको छ। ‘अब त्यही टहरा भत्काए भने कहाँ जाऊँ,’ उनी दुखेसो पोख्छिन्।
५० वर्षीया सरला सुवेदी शंखमूल नजिकैको सुकुम्बासी बस्तीमा बस्दैं आएकी छन्। उनले यसअघि यो सूचना पाएकी थिइनन्। तर अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फुटपात हटाएको देख्दा मन त्रसित भएको उनी बताउँछिन्।
‘देशकै जनता भएर पनि सुकुम्बासीलाई विभेद राज्यले गरेको छ। हामी यो देशको नागरिक होइनौँ र?’ उनको प्रश्न छ।
रुकुम पश्चिमका भक्तबहादुर थापा २५ वर्षअघि रोजगारीको क्रममा राजधानी छिरे। उनका छिमेकीहरू बानेश्वरस्थित मिन भवन क्याम्पस पछाडि रहेको सुकुम्बासी बस्तीमा बसेका थिए। उनी पनि त्यहीँ बस्न पुगे।
बस्ती हटाइए कहाँ जाने ? उनीसँग यतिबेलाा विकल्प छैन।
बालाजु क्षेत्रमा रहेको सुकम्वासी बस्तीमा बस्दै आएका रामप्रसाद तिवारी पनि आन्दोलनमा होमिएका थिए। उनको माग छ- बसिरहेको ठाउँमा बस्न पाऊँ। बागमती करिडोरका सुकुम्बासीलाई विस्थापित गर्न ९ वटा डोजर तयार पारिएको कुरा उनी सुनाउँछन्। ‘डोजर आयो भने छाती तेस्र्याउँछौँ, तर बस्ती छाड्ने छैनौँ,’ रामप्रसाद भन्छन्।
बागमती किनारमा ३५ सय सुकुम्बासी बस्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।