काठमाडौं- पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले रोल्पामा जाँड छानेर आएको भन्दै गरिएको टिप्पणीप्रति दुःख व्यक्त गरेकी छन्।
नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका व्यवसायी दुर्गा प्रसाईँले केही समयअघि घर्तीलाई रोल्पामा जाँड छानेर आएको भन्दै व्यंग्य गरेका थिए।
सत्ता गठबन्धनले बिहीबार काठमाडौंको कोटेश्वरमा गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू जाँड छानेर नभई संघर्षबाट आएको र मुलुकको प्रमुखमध्येको एक सभामुख पद इमान्दारीतापूर्वक चलाएको बताइन्।
‘हिजो पनि म जनतासँगै थिएँ आज पनि सँगै छु र भोलि पनि सँगै हुने बाचा गर्छु।अहिले म काठमाडौं-२ का लागि थपना उम्मेदवार होइन। देशभरका छोरीका लागि आशाको, विश्वासको, भरोसा र भविष्यको एउटा सपना देख्ने उम्मेदवार हुँ। रोल्पामा जाँड छान्ने ओनसरी भनेर पनि कतिपयले सामाजिक सञ्जालमा भन्नु भएको मैले पढेको छु। तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, निरंकुश राजतन्त्रविरुद्ध व्यवस्था बदल्न पेटमा बच्चा हुँदा बन्दुक बोकेर हिँडेको अनुभव मसँग छ’, घर्तीले भनिन्।
घर्तीले निर्वाचन जितेपछि पनि काठमाडौं-२ को विकासका मुद्दा लिएर मतदाताको घरदैलोमा आउने प्रतिबद्धता जनाइन्। आफूले चुनावी घोषणापत्रमार्फत् टनेल, स्पोर्ट सिटी, सम्पदा शहरलगायतका भिजन अघि सारेको भन्दै उनले आफूसँग प्रष्ट योजना रहेको उल्लेख गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।