काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई केवल आवधिक निर्वाचनको रूपमा मात्रै नभई विगतका त्रुटि सच्याउने अवसरको रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन्।
निर्वाचन प्रचारप्रसारको मौन अवधि सुरु हुनु केही घण्टाअघि आम मतदातालाई सम्बोधन गरी जारी गरिएको भिडियो सन्देशमा अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन्।
अध्यक्ष लिङ्देनले आफ्नै जीवनकालमा समृद्ध नेपाल बनाउने र नेपाल बनेको हेरेर मर्ने आमचाहना परिपूर्ति गर्ने संकल्पका साथ राप्रपा निर्वाचनमा होमिएको बताएका छन्। राष्ट्रिय राजनीतिमा राप्रपा नवीन सोच र दृष्टिकोणका साथ जनताको माझमा आएकाले आफ्नो पार्टीका प्रतिनिधि सभा र प्रदेश सभाका उमेदवारलाई मत दिई विजयी गराउन उनले आम मतदातालाई अपिलसमेत गरेका छन्।
यस्तै, अध्यक्ष लिङ्देनले अर्को भिडियो सन्देशमार्फत जीवनमा पहिलोपटक भोट हाल्न तम्तयार लाखौं नवयुवा र युवालाई आगामी निर्वाचनलाई देशको भाग्य र भविष्य बदल्ने निर्वाचनको रुपमा सदुपयोग गर्न आग्रह गरेका छन्।
लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उमेदवार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।