काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टीको सरकार बनेको एक महिनामा विदेशिएका युवाहरूलाई नेपाल ल्याएर रोजगार दिने बताएका छन्।
चितवनको नारायणी नदी किनारमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्दै रविले उक्त कुरा भनेका हुन्।
‘फ्रि भिसा फ्रि टिकटको स्किम आएको भन्ने सुनेको छु। ल मेरो पनि आज एउटा स्किम लैजानुहोस्, हाम्रो सरकार बन्यो भने एक महिनाभित्र विदेशमा बसेका क्षमतावान सय मानिसलाई यही देशमा त्यही सुविधासहितको रोजगार दिइनेछ। विस्तारै अमेरिका, युरोपका गल्लीमा नेपालमा रोजगार पाइन्छ भन्ने पोस्टर टाँसिनेछ। त्यसका लागि म आफैं जानेछु,’ लामिछानेले भने।
यसअघि आफूले न्याय नपाउँदा चितवनले न्याय दिएकाले चितवनलेनै सिंगो देशलाई न्याय दिने पनि उनले बताए।
‘यहाँ केही गर्छु भन्नेले केही नगर्नेलाई जवाफ दिनुपर्ने रहेछ। अब जवाफ दिने होइन समाधान खोज्न यो बाटो रोजेको छु। अब जवाफ दिएरै छाड्नेछु । मलाई जहिल्यै घेराबन्दीमा पार्ने गरिएको छ। अहिले फेरि म एउटा चक्रब्यूहमा छु। चक्रब्यूहबाट मलाई मंसिर ४ गते भोट हालेर निकाल्न सक्नुहुन्छ। सबका कानमा हिजै घण्टी बजाएकै हो। अब ब्याण्ड बजाउने हो,’ लामिछानेले भने।
नेता भनेको सेवक भएको बताउँदै उनले भने, ‘तपाईंको उपचार जहाँ हुन्छ मेरो पनि त्यहीँ हुन्छ। सरकारी अस्पताल बाहेक अन्यत्र उपचार गर्न जाँदिनँ। सबैका लागि स्वाथ्य, सबैका लागि शिक्षा हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।