काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पराजय भोग्ने देखेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाउन थालेको टिप्पणी गरेका छन्।
सत्ता गठबन्धन काठमाडौं–२ ले बिहीबार काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओली हार्ने भएपछि आक्षेप लगाउनेतिर लागेको दाबी गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले परमादेशबाट बनेको सरकार भनेर ओली एण्ड कम्पनीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको टिप्पणीसमेत गरे। तत्कालीन एमाले र माओवादी केन्द्रको सहकार्यमा मात्रै ०७४ सालको निर्वाचनमा जनताले बहुमत दिएको सत्यलाई समेत ओलीले अस्वीकार गरेर झुटो प्रचार गरिरहेको उनको भनाइ थियो।
अध्यक्ष नेपालले जनताले दिएको मतलाई स्वीकार गरेर सरकार चलाउन नसक्ने ओलीलाई आसन्न निर्वाचनमा पराजित गराउन पनि आम मतदातालाई अपिल गरे।
‘यो सर्वोच्च अदालतको आदेशबाट बनेको सरकार होइन। यदि संसद्मा बहुमत नभएको भए, बहुमत सदस्यले समर्थन नगरेको भए सर्वोच्च अदालतले त्यसलाई स्वीकार गर्ने अवस्था बन्ने थिएन’, उनले भने ‘परमादेशबाट बनेको सरकार भनेर केपी ओली एण्ड कम्पनीले जुन लाञ्छना लगाउने काम गरेको छ। त्यो अत्यन्तै आपत्तिजनक छ। त्यो दूराग्रहयुक्त पराजयको पीडाबाट आएको अभिव्यक्तिमात्रै हो।’
०७४ सालमा जनताले झण्डै बहुमत एमालेलाई दिएको तर ओलीका कारण त्यो सकिएको नेता नेपालको टिप्पणी थियो।
एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गर्दा बहुमत पाएको तर त्यसलाई ओलीले दुरुपयोग गरेको उनले आरोप लगाए। साथै, उनले ओली नेतृत्वको विपक्षी गठबन्धनलाई राष्ट्रघाती भन्दै आक्रोश व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।