काठमाडौं– नेकपा एमालेसँग विद्रोह गरेर काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका रामवीर मानन्धरले यसपछिका निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन्। यसपटकको चुनाव जित्ने दाबी गर्दै मानन्धरले त्यसपछिका चुनावमा उम्मेदवारी नदिने घोषणा गरेका हुन्।
अघिल्ला दुई निर्वाचनमा काठमाडौं–७ बाट जितेका मानन्धरले यसपटकको निर्वाचनका लागि एमालेबाट टिकट नपाएपछि विद्रोह गरेका थिए। घण्टाघर चुनाव चिह्नसहित चुनावी मैदानमा रहेका मानन्धरले यसपटकको चुनाव पनि आफूले नै जित्ने दाबी गरे।
‘मैले चुनाव जित्ने निश्चित भएसँगै एमाले र माओवादीका उम्मेदवारमा छटपटी छ,’ मानन्धरले भने। आफूलाई एमाले, कांग्रेस र माओवादीका कार्यकर्ताको पनि साथ रहेको मानन्धरको दाबी छ।
काठमाडौंलाई सभ्यता र संस्कृतिको सहर बनाउनका लागि महानगर प्रमुख बालेन साहलाई सहयोग गर्नका लागि संसद्मा आफू भएमात्रै सहज हुने मानन्धरको दाबी छ।
मानन्धन केपी ओली नेतृत्वको सरकारमा शहरी विकास राज्यमन्त्री थिए। राज्यमन्त्री हुँदा सडक विस्तारमा खेलेको भूमिकाका कारण पनि मतदाताको रोजाइमा आफू रहेको मानन्धरको भनाइ छ।
एमालेबाट काठमाडौं ७ मा श्याम कुमार घिमिरे प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन्। यस्तै, सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रको चुनाव चिह्नसहित मानुषी यमी भट्टराई उम्मेदवार छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।