काठमाडौं– निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ४ बुँदे निर्देशन जारी गरेको छ।
आयोगले निर्वाचनको प्रचार–प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री–वितरण र सेवन गर्न निषेध गरिएको जनाएको हो।
साथै, आयोगले मतदानको मितिभन्दा ४८ घण्टाअघि देखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री–वितरण र सेवन निषेध गराउन निर्देशन दिने निर्णय गरेको छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन अधिकृत तथा मतदान अधिकृतले रहेको सन्दर्भमा मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नका लागि मतदानको मितिभन्दा ४८ घण्टाअघि देखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री– वितरण र सेवन निषेध गराउन निर्देशन दिइएको हो ।
यस्ता छन् ४ निर्देशन:
१. प्रचार–प्रसार निषेध भएको अवधि (मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म) आवश्यक प्रबन्ध मिलाई मदिरा बिक्री, वितरण, ओसारपसार तथा सेवन गर्ने गराउने कार्यलाई पूर्ण रूपले निषेध गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिने।
२. मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री–वितरण तथा ओसारपसारका कार्यहरू स्थगन गरी शान्तिपूर्ण वातावरणमा, स्वच्छ, स्वतन्त्र, निष्पक्ष रभयरहित निर्वाचन सम्पन्न गर्न गराउन सहजीकरण र सहयोगको आवश्यक व्यवस्था मिलाउन मदिराको बिक्री वितरणको अनुमति प्राप्त गरेका व्यवसायीलाई निर्देशन दिने।
३. मतदान सुरु हुने दिनभन्दा ४८ घण्टाअघि देखि मतगणना सम्पन्न नभएसम्मको अवधिमा मदिरा बिक्री, वितरण, ओसार पसार तथा सेवन गर्ने गराउने कार्यको सूक्ष्म अनुगमन गरी आवश्यक कारबाहीको व्यवस्था मिलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य सरकारी निकायका स्थानीय तहमा रहेका कार्यालयलाई निर्देशन दिने।
४. उल्लिखित निर्देशनको कहीँ–कतैबाट अवज्ञा भई मदिराको बिक्री–वितरण, ओसारपसार र सेवन गरेको, गराएको वा निर्वाचनको शान्ति भंग गराएको पाइएमा आवश्यक कारबाहीका लागि नजिकको प्रहरीलाई सूचना गरी सहयोग गर्न आम नागरिकलाई अनुरोध गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।