काठमाडौं– निर्वाचन आयोगले होटल रोयल सेन्चुरी, चितवन र नेकपा (माओवादी केन्द्र) जिल्ला कार्यसमिति, चितवनका अध्यक्षलाई पत्र पठाइ मंगलबारको जनप्रदर्शनमा सहभागीलाई खाना खुवाइएको खर्चको बिलको प्रमाणितप्रति उपलब्ध निर्देशन जारी गरेको छ। त्यस्तै आयोगले सो पार्टीका जिल्ला अध्यक्षलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पनि भनेको छ।
सो पार्टीका चितवन अध्यक्षले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरी उक्त दिन ‘बिहान ८ बजे नारायणगढ लायन्स चोकबाट गठबन्धनको जनप्रदर्शन हुने हुँदा सम्पूर्ण नेता, एवं कार्यकर्तामा सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ, साथै जनप्रदर्शन पछि होटल रोयल सेन्चुरीमा खानाको व्यवस्था गरिएको छ’ भन्ने सूचना जारी गरेका थिए।
निर्वाचन आयोगले उक्त सूचनाले आचारसंहिता उल्लघन गरेको भन्दै पत्र पठाएर खर्च विवरण माग गरेको हो। सूचनामा उल्लेख गरिएको सामग्री आयोगमा प्राप्त भएकाले त्यहीअनुसार बिल भरपाई पठाउन आयोगले भनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।