निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसार सम्बन्धि सामग्रीहरू मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन जारी गरेको छ।
आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई उक्त सामग्री हटाउन निर्देशन जारी गरेको निर्वाचन आयोगका सहप्रवक्ता कमल भट्टराईले बताए।
भट्टराईले मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाउने पनि बताए ।
उम्मेदवार तथा राजनीतिक दलहरूले आयोगको निर्देशन अटेर गरी सामाजिक सञ्जालबाट प्रचारप्रसार गरे वा प्रचारप्रसार सामग्री नहटाए कारबाही हुने बताए ।
‘निर्वाचन आचारसंहीिता २०७९ बमोजिम मतदानको दिनभन्दा ४८ घण्टा अघिदेखि उम्मेदवार तथा राजनीतिक दलले कुनैपनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ। त्यसलाई हामीले आचारणको रुपमा व्याख्या गरेका छौँ । कुनै पनि माध्यमबाट मत माग्न नपाइने भनेको सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट समेत प्रचारप्रसार गरेर मत माग्न नपाइने व्यवस्था स्पष्ट छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।