काठमाडौं- निर्वाचन आयोगले मंसिर १ गते राती १२ बजेबाट आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न, नगराउन राजनीतिक दल, उम्मेदवार र सर्वसाधरणलाई सचेत गराएको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधिमा निर्वाचन प्रचार-प्रसार लगायत गतिविधि सञ्चालनमा निर्वाचन आचारसंहिता ०७९ले निषेध गरेकाले त्यस्ता गतिविधिमा संलग्न नहुन आयोगले सचेत गराएको हो।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान केन्द्रबाट ३ सय मिटर वरीपरी दल वा उम्मेदवारको प्रचारप्रसार सामग्री भए तत्काल हटाउन, निर्वाचनको वातावरण बिथोलिने कुनै पनि किसिमको सभा, सम्मेलन, भोजभतेर, लगायत काममा पूर्ण रुपमा निषेध गरिएको उल्लेख गरे।
‘राजनीतिक दल वा दलको भातृ संगठनबाट गरिएका विज्ञापन तथा प्रचारप्रसारका सामग्री पूर्ण रुपमा हटाउनपर्छ। मतदान केन्द्र रहेको घर, भवन वा सो वरिपरीको स्थानलाई असर पार्ने गरी त्यसको वरिपरी कुनै निजी, सार्वजनिक घर वा जग्गामा शान्ति भंग गर्न वा भय सिर्जना गरी निर्वाचनको वातावरण बिथोल्न पाइँदैन,' भण्डारीले भने।
मतदानस्थल वरीपरि साउण्ड सिष्टम राख्नसमेत नपाउने बताए ।
उनले निर्वाचनको आचारसंहिता प्रतिकूल हुनेगरी कुनै गतिविधि गरेमा तत्काल दोषीमाथि कारबाही हुने चेतावनी समेत दिए। निर्वाचन आयुक्त भण्डारीले कुनै पनि किसिमको डर, त्रास, भय नलिई वा प्रलोभनमा नपरी मतदान गर्न आम मतदातालाई आह्वान समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।