काठमाडौं– २०७९ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्य बृद्धि) ८.५० प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक विन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ।
यसैगरी, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मुद्रास्फीति २१.१५ प्रतिशत, स्वास्थ्यको १०.५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरूको ९.४५ प्रतिशत र शिक्षाको ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ७.६८ प्रतिशत रहेको छ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत मुद्रास्फीति रहेको छ। ०७८ असोज महिनामा यी क्षेत्रहरूमा क्रमशः ३.४८ प्रतिशत, ४.०१ प्रतिशत, ५.६८ प्रतिशत र ३.१२ प्रतिशत मुद्रास्फीति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।