काठमाडौं- पूर्व-प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग देश बनाउने ल्याकत नभएको आरोप लगाएका छन्।
सुनसरीको लौकीमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने,‘कांग्रेस देश चलाउने ल्याकत राख्दैन। १५ सालमा दुई तिहाई ल्यायो। विरोधीलाई दमन गर्दै, गफ गर्दै समय सक्यो।’
उनले ०४८ सालमा कांग्रेसको बहुमत आएको र टिकाउन नसकी बीचमै विघटन गरेको स्मरण गरे। उनले शेरबहादुर देउवाले संसद विघटन नगर्ने बताउने गरेको भन्दै पटक पटक कसले संसद विघटन गरे भन्दै प्रश्न गरे।
उनले ०५६ सालमा कांग्रेसले बहुमतको सरकार र लोकतन्त्र राजालाई बुझाएको आरोप लगाए।
उनले १९ माघ २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको 'राजनैतिक कू'को अवस्था देउवाले नै उत्पन्न गराएको आरोप लगाए। जहाँ नेपाली त्यहाँ एमाले रहेको बताउँदै एमालेको बहुमत नआएमा देश अस्थिरतामा जाने ओलीको दाबी थियो।
तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले हुलाकी बाटोको चर्चा गरे पनि एमालेले त्यसलाई राजमार्गमा परिणत गरेको दाबी गरे। उनले आफू सत्तामा आएपछि दिनको पाँच किलोमिटर बाटो कालोपत्रे बनेको दाबी गरे। ओलीले सत्तारुढ दललाई स्वार्थहरूको गठबन्धन भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।