काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको नेपाल टेलिकमले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस अवधिसम्म आउँदा दुई अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
टेलिकमको नाफा गत वर्षको भन्दा १.५२ प्रतिशतले कमी आएको छ। गत वर्ष यसले दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो। टेलिकमले सेवा व्यापारबाट गर्ने आम्दानी घट्दा नाफामा सामान्य गिरावट आएको हो।
गतवर्ष टेलिकमले सेवा व्यापारबाट नौ अर्ब ७७ करोड रुपैयाँ आम्दानी गरेकामा यसपटक घटेर नौ अर्ब ७ करोड रुपैयाँ भएको छ।
टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने एक अर्ब १७ करोड रुपैयाँबाट घटेर एक अर्ब ९६ करोड रुपैयाँ भएको छ। चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको टेलिकमको रिजर्भ कोष भने झन् बलियो बन्दै गएको छ।
यो त्रैमास सम्ममा टेलिकमको रिजर्भ कोषमा ७९ अर्ब २९ करोड रुपैयाँ जम्मा छ। गत वर्ष यसको रिजर्भ कोषमा ७७ अर्ब रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य घटेको छ।
गतवर्ष ५० रुपैयाँ २२ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले थोरैले घटेर ४९ रुपैयाँ ४६ पैसामा झरेको छ। यसको प्रतिसेयर नेटवर्थ ५४० रुपैयाँ ५१ पैसा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।