काठमाडौं– काठमाडौं महानगरभित्र रहेका अनधिकृत परिचय पाटी हटाउने क्रममा दोस्रो दिन २६० वटा बोर्ड हटाइएको नगर प्रहरी बलले जानकारी दिएको छ।
पूर्व क्षेत्रको बानेश्वरमा रहेको एउटै भवन (बानेश्वर प्लाजा) बाट ४३ वटा बोर्ड हटाइएको र यसका लागि दिनभर लागेको नगर प्रहरी निरीक्षक लीलाराज गाछाले जानकारी दिए।
मध्य क्षेत्रअन्तर्गत पुतलीसडकबाट ४३ वटा, उत्तर क्षेत्र महाराजगञ्च चोकदेखि शंखपार्कतर्फबाट ७२ वटा र पश्चिम क्षेत्र कालीमाटीबाट बल्खुतर्फको सडक खण्डबाट १०२ वटा परिचय पाटी हटाइएको छ।
पहिलो दिन पूर्वमा गौशालाबाट ९४ वटा, पश्चिममा कालीमाटीबाट ५३ वटा, उत्तरमा महाराजगञ्ज चोकबाट ८० वटा र मध्य क्षेत्र रामशाह पथ पुतलीसडकबाट ४८ वटा गरी २७५ वटा सामग्री हटाइएको थियो।
३० वर्गफुटसम्म आकारमा राखिएको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ। एकभन्दा बढी बोर्ड भए, ३० वर्गफुटभन्दा ठूलो आकारको पाइए हटाइएको छ।
यसका लागि परिचालन गरिएका हरेक टोलीमा कम्तीमा १५ जना खटिएका छन्। उनीहरुले भर्याङ, वायर कटर, आइरन कटरलगायतका साधन तथा उपकरण प्रयोग गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।