काठमाडौं– नेकपा (एमाले)का सचिव योगेश भट्टराईले घरदैलो अभियानमा पुग्न नसकेका क्षेत्रका बासिन्दाहरूलाई चिठ्ठीमार्फत भोट मागेका छन्।
नेता भट्टराईले भेट्न आउने मन हुँदा–हुँदै पनि कतिपय ठाउँमा पुग्न नसकेको भन्दै मंगलबार सार्वजनिक रुपमा चिठ्ठी सम्प्रेषण गरेका हुन्।
एमालेको तर्फबाट ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका भट्टराई, प्रदेश (क)का उम्मेदवार तिलकुमार मेन्वाङ्गो र प्रदेश (ख)का उम्मेदवार गोपाल थोप्राले हस्ताक्षर भएको उक्त पत्रमा जिल्लाको समग्र विकास निर्माणका कामहरूलाई पूर्णता दिन, जिल्लाबासीलाई खुसी र लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्नका लागि एमालेलाई भोट दिन आग्रह गरेका छन्।
‘तपाईंसँग घरको सिकुवा र अँगेनोको डिलमा बसेर दुखःसुखका गफ गर्ने र समस्या सुन्ने योजना बनाएर हामी गाउँघर घुम्न निस्किएका थियौं। हाम्रो जिल्लाको भौगोलिक विकटताबारे यहाँलाई अवगत नै छ। जसका कारण यहाँसँग भलाकुसाली गर्ने हाम्रो चाहाना पूरा हुन सकेको छैन। यो बाध्यतालाई यहाँले बुझिदिनु हुनेछ’, पत्रमा उल्लेख गरिएको छ।
त्यसका साथै उनले पत्रमार्फत मंसिर ४ मा हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न आग्रहसमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।