काठमाडौं– नक्कली सुन धितो राखेर कर्जा लिएको आरोपमा एक युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले पोखराको सराङकोटका २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरेको हो।
प्रहरीकाअनुसार उनले विभिन्न मितिमा नक्कली सुनका गहना धितो राखेर पोखराको बिरौटामा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार, पृथ्वीचोकमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाटै ७ लाख ४५ हजार गरी २४ लाख ५ हजार कर्जा लिएका थिए।
लामो समयसम्म पनि कर्जाको ब्याज तथा सावा नबुझाएपछि शंका लागेर गहना चेक गर्दा नक्कली रहेको पुष्टि भएको थियो। त्यसपछि बैंकले उनलाई विपक्षी बनाउँदै जाहेरी दिएको थियो।
पक्राउ परेका सुनारविरुद्ध ठगी, विश्वास घात तथा आपराधिक लाभको कसुरमा जिल्ला अदालत, कास्कीबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।