काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको बताएका छन्।
तनहुँमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीले संसद् विघटन गरेपछि अहिलेको पाँच दलीय गठबन्धन बनाउन रामचन्द्र पौडेलले ठूलो भूमिका निर्माण गरेकाले उहाँ आगामी निर्वाचनपछि देशको कार्यकारी प्रमुख बन्ने सम्भावना बढेको बताए।
उनले भने, ‘पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो। उहाँको एक पटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ। त्यो सम्भावना बढ्यो। तपाईहरुले थोरै मतले जिताउनुभयो भने त्यो सम्भावना कम हुनसक्छ। त्यस कारण पौडेलजीलाई अत्यधिक बहुमतले जिताएर पठाउनुहोस्।’
प्रचण्डले दाहालले आफू गोर्खाबाट उम्मेदवार भएको, तनहुँबाट पौडेल र लमजुङबाट माओवादीका महासचिव देव गुरुङ उम्मेदवार भएकाले यो क्षेत्रको विकासमा एकीकृत ढंगले लाग्ने बताए।
उनले केपी ओलीले दुईदुई पटक संसद् विघटन गरेर जनतासँग फेरि भोट माग्ने हैसियत गुमाएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।