काठमाडौं– निजामति अधिकृत बराबरको सेवा सुविधा प्राप्त हुने पदमा रहे पनि पद अनुसारको मर्यादाक्रम नभएको भन्दै दोलखाका शिक्षकले निर्वाचन कर्मचारी भएर खट्न अस्वीकार गरेका छन्।
क्षेत्रवती माध्यमिक विद्यालय बैतेश्वर दोलखाका शिक्षक नीरबहादुर बरालले आइतबार एक विज्ञप्ति जारी गर्दै आफू निर्वचनमा खट्न नसक्ने बताएका छन्।
‘मंसीर ४ गते हुन गइरहेको संघ तथा प्रदेशको निर्वाचनमा मलाई नवीन मावि मतदान केन्द्र ‘ग’ मुसाफेदामा सहायक कर्मचारीको जिम्मेवारी दिई खटाइएको तर मेरो पद प्राथमिक शिक्षक, प्रथम श्रेणी कर्मचारीको राजपत्राङ्कीत तृतीय श्रेणी अर्थात छैटौं तह सरहको अधिकृत बराबरकोे सेवा सुविधा प्राप्त हुने भएकोले मिल्छ भने मेरो पद अनुसारको मर्यादाक्रम उपयुक्त हुने खालको कार्यभारसहित जिम्मेवारी दिएमा निर्वाचनमा खट्ने प्रतिबद्धता जाहेर गर्दै उल्लेख सहायक कर्मचारीको जिम्मेवारीले मेरो मर्यादाक्रममा अपमान भएको महशुस गर्दै निर्वाचनमा खटिएर जान नसक्ने ब्यहोरा यसै निवेदनमार्फत अनुरोध गर्दछु,’ बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
यस्तै विषयमा केहीदिनअघि नेपाल शिक्षक महासंघले निर्वाचनमा शिक्षक खटाउँदा मर्यादा नमिलाएको भन्दै आपत्ति जनाएको थियो।
‘निर्वाचन आयोगले २६ साउनमा स्वीकृत गरेको निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७९ को दफा ११ (२०) कर्मचारी परिचालन सम्बन्धित व्यवस्था भएको छैन,’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको थियो।
माध्यमिक, उच्च माध्यमिक, निमावि प्रथम, द्धितीय र प्रावि प्रथम शिक्षक र शाखा अधिकृत मात्रै हुनुपर्ने, सहायक मतदान अधिकृतमा निमावि तृतीय, प्रावि द्धितीय, प्रावि प्रथम र शाखा अधिकृत मात्र हुनुपर्ने, सहायक कर्मचारीको रुपमा प्रावि तृतीय, बाल विकास शिक्षक, विद्यालय कर्मचारी (सह लेखापाल) मात्र रहनुपर्ने गरी सच्याउन शिक्षक महासंघले जारी गरेको विज्ञप्तिमा माग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।