काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको प्रचार गर्दै जाँदा हिजोका द्धन्द्धका घाउहरू मेटिँदै गएको महशुस भइरहेको बताएका छन्।
सोमबार गोरखाको पालुङ्टारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
‘नेपाली कांग्रेससँग प्रचार गर्दै जाँदा विस्तारै–विस्तारै मैले के महशुस गरेको छु, तपाईँहरू पनि विचार गर्नु होला। हिजो द्धन्द्ध र युद्धका घाउहरू मेटिँदै–मेटिँदै जान थालेका छन्। अब माओवादीका नेता कार्यकर्ताले पनि सँगै बस्ने सँगै खाने, सँगै हिँड्दै जाँदा कांग्रेसमा पनि राम्रा–राम्रा नेता र कार्यकर्ताहरू रहेछन् भन्ने सोच्न थालेको मैले थाहा पाएको छु,’ उनले भने, ‘त्यसैगरी, कांग्रेसका कार्यकर्तालाई पनि माओवादी पनि कहाँ त्यस्तो निष्कलंक रहेनछन् र मान्छे त असल पो रहेछन् भन्ने महशुस गरेको छु। ’
प्रचण्डले सम्झौता र सहकार्य भन्ने कुरा आमने–सामने बसेर संघर्ष गर्नेहरूकै बीचमा हुने बताए। उनले इतिहासमा पनि युद्धरत पक्षबीचमा पनि सहमति र विमति राख्ने गरेको स्पष्ट पारे।
‘एउटै मत राख्नेहरूले मुलुकलाई खास गति दिँदैन। कांग्रेस र माओवादीबीच भएको सहमतिको मात्र अर्थ हुन्छ’, उनले भने, ‘जो युद्धबाट प्रताडित भए। जसको जीवन गयो। तिनीहरूलाई सहिदको सम्मान दिने। हजारौं माओवादीसँग सम्बन्धित हजारौं सहिदलाई पनि सहिदको सम्मान दिने। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलमा जो–जो मारिएका छन। तिनीहरूलाई समेत सहिदको सम्मान दिने। उनीहरूका परिवारलाई परिपुरण गर्ने। र, उनीहरूको स्मरणमा पार्कहरूराज्यले नै बनाउने कुरामा हामीले विधेयकमा र गठबन्धनमा सर्वसम्मत पारित गरिसकेका छौं। ’
प्रचण्डले संसद् अन्त्य नभएको भए विधेयक पारित भइसक्ने पनि बताए। उनले एमालेले विश्वासघात नगरेको भए उक्त विधेयक पारित भइसकेको हुने बताए। उनले कांग्रेससँग संगत गर्दै जाँदा हिजोको युद्धको घाउ मेटिँदै जाँदै गरेको महशुस गरेको छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।