काठमाडौं– सत्तारुढ गठबन्धनले आज अर्थात् सोमबार काठमाडौंको सांस्कृतिक एवं ऐतहासिक सहर साँखुमा संयुक्त चुनावी सभा आयोजना गर्ने भएको छ।
साँखु बजारमा अपराह्न २ बजे सुरु हुने सभालाई कांग्रेस नेता प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, नेकपा एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधरसहित उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको चुनाव प्रचार–प्रसार समितिले जनाएको छ।
पहिलो चरणको घरदैलो कार्यक्रम सकिएसँगै चुनावी सभा आयोजना गरिएको गठबन्धनको चुनाव परिचालन समिति संयोजक एवं नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर–२ का सभापति कबीर शर्माले जानकारी दिए।
आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट काठमाण्डौं–२ मा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती, प्रदेशसभा (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल साझा उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।