अबुजा– नाइजेरिया फिफा विश्वकप २०१८ को लागि छनोट हुने पहिलो अफ्रिकी देश बनेको छ। नाइजेरियाले अफ्रिका छनोटको समूह 'बी' बाट अन्तिम खेलअघि नै आगामी वर्ष रसियामा हुने विश्वकपका लागि स्थान पक्का गरेको हो।
नाइजेरियाले शनिबार राति भएको खेलमा जाम्बियालाई १–० ले पराजित गर्यो। नाइजेरियाको जितमा इओवीले ७३ मिनेटमा गोल गरे। नाइजेरियाले १३ अंक जोड्दा दोस्रो स्थानको जाम्बियाले ७ तथा तेस्रो स्थानको क्यामरुनले ६ अंक तथा पुछारको अल्जेरियाले १ बटुलेका छन्। नाइजेरिया छनोट भएसँगै जाम्बिया, क्यामरुन र अल्जेरिया बाहिरिएका छन्।
अफ्रिका छनोटको समूह 'ए' मा ट्युनिसिया छनोट नजिक पुगेको छ। शीर्ष स्थानको ट्युनिसियाले १३ अंक जोडेको छ। १० अंक जोडेको दोस्रो स्थानको कंगोको पनि छनोट हुने आसा बाँकी नै छ। शनिबार राति भएको खेलमा ट्युनिसियाले गुयनालाई ४–१ ले तथा कंगोले लिबियालाई २–१ ले हराए।
समूह 'सी' मोरक्को र आइभरीकोस्टले छनोट हुने सम्भावना बलियो बनाएका छन् । मोरक्कोको ९ तथा आइभरीकोस्टको ८ अंक छ। शनिबार भएको खेलमा मोरक्कोले गाबोनलाई ३–० हरायो।
समूह 'ई' मा ९ अंक जोडेर पहिलो स्थानमा रहेको इजिप्ट, ८ अंक जोडेको युगान्डा र ६ अंक जोडेको घानाको छनोट आशा बाँकी नै छ। शनिबार भएको खेलमा घाना र युगान्डाले गोलरहित बराबरी खेले।
यता उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट कोस्टारिकाले विश्वकपमा स्थान पक्का गरेको छ। कोस्टारिकाले आइतबार बिहान भएको खेलमा होन्डुरससँग १–१ को बराबरी खेलेर एक खेलअघि नै विश्वकपमा स्थान पक्का गरेको हो। यो क्षेत्रबाट मेक्सिकोले विश्वकपमा स्थान पक्का गरिसकेको छ।

एक वर्षपछि रसियमा हुने विश्वकपमा लागि अहिलेसम्म १३ टिमले स्थान पक्का गरिसकेका छन्। आयोजक रसियासहित युरोपबाट स्पेन, बेल्जियम, जर्मनी र इंग्ल्यान्ड गरी पाँच टिम छनोट भएका छन्। एसियाबाट इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया छनोट भइसकेका छन्। यता उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट मेक्सिको र कोस्टारिकाले विश्कपमा स्थान पक्का गरेका छन्। दक्षिण अमेरिकाबाट ब्राजिल तथा अफ्रिकाबाट नाइजेरियाले विश्वकपमा स्थान बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।