रोल्पा– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले ४ मंसिरको निर्वाचनमा सत्तारुढ गठबन्धनले संघ र सातवटै प्रदेशमा दुई–तिहाइ बहुमत प्राप्त गर्ने बताएका छन्।
गृहजिल्ला रोल्पाको माडी गाउँपालिकास्थित घर्तीगाउँमा शनिबार आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पुनले संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने बताए
केपी ओलीले जनमतको अपमान गरी पटकपटक संसद् विघटन गरेका कारण संविधान र लोकतन्त्र बचाउन वर्तमान गठबन्धन बनेको पुनको भनाइ थियो। उनले चुनाव जित्न र सत्ता स्वार्थका लागि मात्र गठबन्धन नभएको उल्लेख गरे।
‘जित्नकै लागि चुनावमा सहभागी हुने हो, तर सत्ता स्वार्थका लागि मात्र गठबन्धन भएको होइन’, उनले भने, ‘केपी ओलीको पटकपटकको प्रतिगमनका कारण यो गठबन्धन बनेको हो। सत्ता स्वार्थका लागि मात्र भएको होइन।’
पुनले गठबन्धनले जनमतको सम्मान गर्ने भन्दै कुनै पनि हालतमा पाँच वर्षे कार्यकालको बीचैमा प्रतिनिधिसभा विघटन नहुने प्रतिबद्धता जनाए।
पुनले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म जानेमा शंका नगर्न आग्रह गर्दै त्यसभन्दा अगाडि पनि गठबन्धन जान सक्ने औंल्याए।
फरक प्रशंगमा पुनले रोल्पामा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा नै नहुने दाबी गरे। स्थानीय निर्वाचनमा वडाअध्यक्षहरूले पाएको मतका आधारमा गठबन्धनसँग ६६ हजार र एमालेसँग १५ हजारमात्र मत रहेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।