काठमाडौं– महोत्तरीको औरही निवासी नेहा चौधरीको घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।
आयोगले उजुरी प्राप्त भएपछि प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै सो घटनामा छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनका साथै कारबाहीको प्रक्रिया अगाडि बढाउन र सो घटनाको यर्थात विवरण आयोगलाई जानकारी गराउन पत्र पठाएको हो।
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले तराई मधेशमा दाइजोले गर्दा घरेलु हिंसाको समस्या यथावत रहेको र आयोगमा घटनासँग सम्बन्धित विभिन्न उजुरीहरू आउने गरेको तथा सो समस्याप्रति आयोग गम्भीर रहेको बताए।
अध्यक्ष दत्तले सोचमा परिवर्तन र चेतनाको स्तर वृद्धि नभएसम्म यस्ता समस्याहरूले समाजमा धेरैे चेलीबेटी यातनाको शिकार बन्ने विषय डरलाग्दो रुपमा रहेको बताए।
करिब ८ महिनाअघि महोत्तरीको रामगोपालपुर घर भएका डा पंकज चौधरीसँग विवाह भएकी नेहालाई दाइजोको नाममा श्रीमान् र उनका परिवारले शारीरिक तथा मानसिक यातना दिएको उजुरी आयोगमा परेको छ। सो घटना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त घटनाप्रति सामाजिक सञ्जाल प्रयोगकर्ता नेहाले न्याय पाउनुपर्ने बताउँदै उनको पक्षमा उभिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।