काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का सुकुम्बासीको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
सुकुम्बासी समस्या समाधानकै लागि भूमि आयोग बनेको भन्दै उनले त्यसले दिने प्रतिवेदनलाई आधार मानेर दीर्घकालीन समाधान निकालिने बताएका हुन्।
आइतबार बिहान थापाथलीस्थित वागमती नदी किनारको सुकुम्बासी बस्तीमा चुनावी प्रचार प्रसारका क्रममा पुगेका नेता सिंहले भने, ‘भूमि आयोगले काम सुरु गरिसकेको छ। निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ, त्यसको प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्छौं।’
समस्या समाधान गर्दा जबरजस्ती नभई भूमिहीनको पनि चित्त बुझाएर गर्ने उनले बताए। ‘सरकार र तपाईंहरुलाई पनि हुने गरिकन, विन–विन सिचुयशन दुवैलाई हुनेगरी गर्नका लागि हामी जोड दिन्छौं,’ उनले भने।
मतदाताले सरकारी कार्यालयका कामकाज झन्झटिलो र ढिलो भएको भन्ने गुनासो गरेको भन्दै उनले सरकारी सेवालाई सरल र छिटोछरितो बनाउन पनि पहल गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।