जाजरकोट– नलगाड नगरपालिका–८ का हरिबहादुर खत्री तोरी बारीमा सिँचाइ गर्न व्यस्त छन्। उनलाई चुनावको विषयमाभन्दा पनि तोरी उत्पादन राम्रोसँग गर्न सिँचाइको कामम व्यस्त छन्।
तीन मुरी तोरी फल्ने उनको खेतबारीमा सिँचाइ गर्न कम्तीमा पाँच दिन लाग्छ। सिँचाइको काम पछि तोरीमा उम्रिएको झार हटाउन एकहप्ता लाग्ने खत्रीको भनाइ छ।
‘अघिल्लो चुनावमा प्रचारमा जाउ भनेर नेताले फोन गर्थे, अहिले खासै केही कुरा भएको छैन’, उनले भने। उनी थप्छन्, ‘चुनाव पाँच वर्षमा आउँछ, खेतबारीको उत्पादनले हर समय काम लाग्छ। यहीँ उत्पादन बिक्री गरेर दैनिक समस्या टार्नुपर्छ।’ बिहान भोट खसालेर दिनभरि अरु काम गर्नुपर्छ। अहिले जिन्दावाद र मुर्दावादतीर लागेर गाउँ घरमा सम्बन्ध तितो बनाउन जरुरी नभएको खत्रीले थपे।
उनीजस्तै जस्तै अर्का बारेकोट–५ का प्रेम शाहीलाई दैनिक नेताले प्रचारप्रसारमा जानका लागि फोन गर्छन्। मैले खानेपानीको लागि पटक–पटक माग गरे तर अहिलेसम्म खानेपानी दिएनन् अनि किन लाग्ने पछि पछि? भेरी नगरपालिका–५ का सेते बस्नेत भारत कमाइ गर्नका लागि निस्किसके।
उनको घरमा ५६ वर्षकी आमा, दुई छोरा र एक छोरी मात्र छन्। श्रीमती लिएर भारतमा गएका बस्नेत चैतमा मात्र फर्कने योजना रहेको उनकी आमा पानमती बस्नेतले बताइन्।
नातीनातिनीलाई पढाउने पैसा छैन। ‘छोराबुहारी पढाउने पैसा कमाउन भारत गएका छन्’, पानमतीले भनिन्। तिहार मनाएर बस्नेतसँगै गाउँका २३ जना भारत पुगिसकेको छन्।
भारतमा पुगेर छोराले फोन गरेको पानमतीले बताइन्। उनीहरु त प्रतिनिधिमूलक पात्र मात्र हुन्। जाजरकोटका सातै स्थानीय तहमा चुनावको गतिविधि बढे पनि यसप्रति त्यतिसारो उत्साह देखिँदैन।
विगतमा जस्तो भड्किलो पनि यसपटकको प्रचारमा देखिँदैन। निर्वाचन आचारसंहिताका कारण सबै व्यक्तिहरु चनाखो भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए।
कर्मचारी तथा शिक्षकले सामाजिक सञ्जालमा लेख्न सुरु गर्ने वित्तिकै निर्वाचन आयोगले स्पष्टीकरण सोधेपछि अहिले सबै चुप लागेर बसेको शाहको भनाइ छ। गाउँमा पहिलेको जस्तो नारा जुलुस नभएको उनले बताए।
उम्मेदवारले सात जनाको सानो संख्यामा आफूसँग टोली लिएर टोलटोलमा भेटघाट, छलफल लगाएको काम गरिरहेको पाइएको छ। चुनाव खर्चिलो भएपछि खर्च धान्न गाह्रो हुँदा उम्मेदवारले घरदैलोमा सानो समूह बनाएर भेटघाटलाई तीव्रता दिएको बताएका छन्।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधिसभाका उम्मेदवार शक्तिबहादुर बस्नेत अधिकांश समय पार्टीको कार्यकर्तामा बस्ने, स्थानीय स्रोत साधनको प्रयोग गर्ने गर्छन्।
सबै उम्मेदवारले आयोजना गरेको चुनावीसभामा सर्वसाधारणको सहभागिता कम देखिएको छ। भेरी नगरपालिका–३ रामकुमार ओलीले जनता सचेत भएकाले कही कतैबाट भोटका लागि बाध्य पार्ने काम नभएको बताए। कुशे गाउँपालिका–५ का साने नेपालीले सबै अरुले भनेको गर्नुपर्छ भने हामी किन अनाआवश्यक चुनावमा खटिने भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।