रौतहट– नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जित सुनिश्चित रहेको दाबी गरेका छन्।
सत्ता गठबन्धनको तर्फबाट रौतहट क्षेत्र नं १ (ख) का प्रदेश सांसदका उम्मेदवारसमेत रहेका सभापति यादवले देश र मधेस प्रदेशसहित रौतहटमा पनि सत्ता गठबन्धनका उम्मेदवारहरू बहुमतसहित निर्वाचित हुने बताए।
रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ६ सिंगारमन धर्मपुरमा शुक्रबार गठबन्धनद्वारा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार यादवले सत्ता गठबन्धनप्रति जनताको बिश्वास र आकर्षण बढ्दै गएकोले गठबन्धनका उम्मेदवार विजयी हुने बताएका हुन्।
गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापीरूपमा आतुर रहेकाले आफूहरूको जित सुनिश्चित रहेको यादवले दाबी गरे।
मुलुकमा लोकतन्त्रपछि प्राप्त उपलब्धिको रक्षा गर्न, संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि वर्तमान सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरूले विजय हासिल गर्नुपर्ने उनले धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।