काठमाडौं– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुुर देउवाले वर्तमान सत्ता गठबन्धन फरक–फरक ध्रवबाट आएर बनेको स्वीकारेका छन्। काठमाडौं क्षेत्र नम्बर १० मा शुक्रबार चुनावी सभालाई सम्बोधन गर्दै संविधान बचाउन फरक–फरक विचार बोक्ने एकै ठाउँमा आउनुपरेको स्पष्ट पारेका हुन्।
‘राष्ट्रमा लामो लडाइँपछि प्राप्त भएको पद्धति र महत्वको संविधान हामीसँग छ। यो समावेशी संविधानलाई बचाएर राख्नु छ। साथसाथै, नेपाली जनताले प्राप्त गरेको लोकतन्त्र छ। निर्वाचनमार्फत सरकार बदल्न पाउने जुन अधिकार पाएको छ। जनताले यसलाई स्थायी राख्न जरुरी छ,’ उनले भने।
एमाले अध्यक्ष केपी शर्मा ओलीले मनपरी ढंगले संसद् विघटन गरेपछि उनलाई रोक्नुपरेको देउवाले स्पष्ट पारे।
‘ओलीजी ले मनपरी रूपमा संसद् विघटन गर्न थालेपछि उहाँलाई रोकेकै हो। संविधानमा जथाभावी संसद् भङ्ग गर्न नमिल्ने व्यवस्था छ। त्यही संविधान बचाउन हामी विभिन्न ध्रुवबाट आएका हौँ,’ उनले थपे, ‘विभिन्न सिद्धान्तबाट आएका हौँ। यो लोकतन्त्रलाई स्थायी गर्न गठबन्धन बनेको हो।’
देउवाले वर्तमान गठबन्धनलाई राम्रोसँग चलाउन सके यो अरु १०–१५ सम्म जाने दाबीसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।