काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश निर्माणको वैकल्पिक मार्गचित्र बनाएर आएको दाबी गरेका छन्। शुक्रबार काठमाडौंको वसन्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष उनले यस्तो बताएका हुन्।
‘कांग्रेस–कम्युनिस्टहरूले गरेनन्। उनीहरू भ्रष्ट भए। उनीहरूले देशलाई ध्वस्त बनाए भन्ने मात्र होइन। हामीले देश निर्माणको बैकल्पिक मार्गचित्र नै तय गरेर चुनावमा आएका छौं’, उनले भने।
लिङ्देनले देशलाई लिकमा ल्याउनका लागि पटक–पटक असफल भएका राजनीति दल तीनका नेतालाई दोहोर्याएर भोट दिने गल्ती गर्नु भनेको देश बर्बाद पार्ने कार्यमा सहभागी हुनु भएको बताए।
उनले न्यायालय र संवैधानिक नियुक्तिमा समेत भागबण्डा हुने गरेको भन्दै आपत्ति जनाए। सत्तामा हुनेले बढी र विपक्षीमा हुनेले कम भाग लिने गरेको बताउँदै भ्रष्टाचारमा समेत भागबण्डा गरिरहेको उनले आरोप लगाए।
‘ठूल–ठूला भ्रष्टाचार काण्डमा ठूला हौ भन्ने कुन चाहिँ पार्टी अछुतो छ? खोज्दै जाँदा सबैको नालीबेली एकै ठाउँमा हुन्छ’, उनले भने।
लिङ्देनले ठूला भन्ने दलहरूलाई पराजितको मानसिकता तीव्ररूपले बढ्दै गइरहेको दाबीसमेत गरे। साथै, उनले ७ुला दलका नेताहरू सत्तामा टिकिरहनका लागि विदेशीका सामु लम्पसार परेको आरोप लगाए।
‘नेपालको राजनीतिमा विदेशीको साथ, समर्थन र आशीर्वादविना मन्त्री हुन सकिँदैन। भइयो भने पनि टिक्न सकिँदैन भन्ने मानसिकता ठूला दलका नेतामा छ’, उनले भने, ‘विदेशीको साथ र समर्थन लिनुपर्छ भनेर उनीहरूका अघाडि लम्पसार गर्ने प्रवृत्ति बढेर गएको छ।’
राप्रपा अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ का उम्मेदवार छन्। उनी कांग्रेसका कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।