काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले प्रमुख राजनीतिक दलहरुले जनताबाट असुल गरेको करमासमेत भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन्।
पूर्व परराष्ट्र एवं अर्थमन्त्रीसमेत भएका लोहनीले काठमाडौंको बसन्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ऋण लिएर साधारण खर्च चलाउनुपर्ने अवस्थामा देशलाई ठूला राजनीतिक दलहरुले पुर्याएको आरोप लगाए।
उनले मतदान सदुपयोग वा दुरुपयोग के भएको छ ख्याल गर्न आग्रह गरे। मतदानका लागि पाएको अधिकार कसका लागि प्रयोग भएको छ? हेर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
‘उनीहरुले आफ्ना आसेपासे र आफन्तहरुलाई पोस्न मात्र भएको मतदान प्रयोग भएको छ कि हितमा भएको छ ख्याल गर्नुहोस्’, उनले भने, ’पैसा लिएर भागबण्डा गर्ने कुन अग्रगमन हो?’
मतदान गर्दा जनताले विचार गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। उनले राजदूतको पद पनि अहिले करौडौं लिएर बिक्री भइरहेको आरोप लगाए।
उनले ६ पटकसम्म एउटा सचिवलाई एक मन्त्रालयबाट अर्कोमा सरुवा गर्ने काम भएको भन्दै त्यो कदम जनताका लागि नभइ आफ्नै स्वार्थका लागि भएको दाबी गरे।
‘अहिले लथालिङ्ग देशको भताभुङ्ग चाला भएको छ। जुन पार्टीले सक्ने उहीले खाने चलन चलेको छ। सत्तामा भएका दल सबैले यसरी नै खाएका छन्’, उनले भने।
उनले अशान्ति र अराजकता बढ्दै गए देश छिट्टै युक्रेनको अवस्थामा पुग्ने चेतावनीसमेत दिए। संसद्मा राप्रपा बलियो भए भ्रष्टाचारीहरुलाई नाङ्गेझार पार्ने उनको दाबी छ।
दक्षिण एशियामा सबैभन्दा धेरै कर नेपाली नागरिकले तिरेको भन्दै उनले सरकारमा बस्नेहरुले त्यो कर भ्रष्टाचार गर्ने र नपुगेको ऋण लिने गरेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।