काठमाडौं– सत्ता गठबन्धनका शीर्ष नेतासमेत उपस्थित बुधबार दार्चुलामा गरेको चुनावी सभा सरकारी विद्यालयको प्रांगण रहेको खुलेको छ। जसकाकारण उक्त विद्यालयका प्रध्यानाअध्यापक र सो क्षेत्रका उम्मेदवारलाई निर्वाचन आयोगले बिहीबार स्पष्टीकरण सोधेको छ।
आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू, प्रदेश सभाअन्तर्गत दार्चुला १ (१)मा कांग्रेस उम्मेदवार विक्रमसिंह धामी र प्रदेशसभा १ (२)मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीलाई स्पष्टीकरण सोधेको जनाएको छ।
’दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ९ स्थिति श्री गोकुलेश्वर उच्च माध्यामिक विद्यालय, गोकुलेश्वरमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)समेतको दलको आयोजनामा निर्वाचन प्रचारप्रसारको लागि चुनावी सभा आयोजना गरिएको विषयमा निर्वाचन आयोगले विद्यालयका प्रधानाध्यापक जनञ्जय जोशी, त्यस क्षेत्रमा कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदेश सभाअन्तर्गत दार्चुला १ (१)मा कांग्रेस उम्मेदवार विक्रमसिंह धामी र प्रदेशसभा १ (२)मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई स्पष्टीकरण सोधेको छ’, आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आयोगले दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कारबाही गर्न निर्देशनसमेत दिएको छ भने प्रमुख जिल्ला अधिकारीलाई ४ दिनभित्र यस घटनाको प्रतिवेदन पेश गर्न निर्देशन समेत दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।