काठमाडौं– नेपाल बार एशोसियनसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्राधिकार ख्याल नगरी विशेष अदालतमाथि टिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ।
अख्तियारले २२ गते पत्रकार सम्मेलन गरेर विशेष अदालतबाट भएका फैसलाप्रति असन्तुष्टि व्यक्त गरेको थियो। अख्तियारले यसरी गरेको टिप्पणीमा पत्रकार सम्मेलन गरेर बारले आपत्ति जनाएको हो।
बारका कार्यबाहक अध्यक्ष हर्कबहादुर रावलले आफ्नो क्षेत्रधिकारकोसमेत ख्याल नगरी ‘अदालतबाट न्यायिक विचलन, कानुनको गलत व्याख्या तथा असक्षमता भएको’ भन्ने अर्थ लाग्नेगरी अख्तियारबाट टिप्पणी गर्नु गलत भएको बताए।
अख्तियारको उक्त टिप्पणीले न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य गरेको बार केन्द्रीय कार्यसमिति र पदाधिकारी बैठकको निष्कर्ष रहेको उनले बताए। विशेष अदालतबाट हुने न्याय निरुपणको विषयमा (अदालतबाट मुद्दाको फैसला भएको विषयमा) गरेको सार्वजनिक पत्रकार सम्मेलनमार्फत् अदालतलाई आफू अनुकुलको फैसला गर्न दबाब दिने उद्देश्य देखिएको बारको टिप्पणीमा उल्लेख छ।
‘राज्यमा भ्रष्ट्राचार निवारण हुनुपर्छ भन्ने कुरामा कसैको कुनै द्विविधा वा विवाद हुन नै सक्दैन,’ बारको विज्ञप्तिमा भनिएको छ, ‘तर, एउटा अभियोजकको रुपमा रहेको संवैधानिक निकायले संविधान र कानूनले निर्दिष्ट गरेको प्रक्रिया अनुरुप सम्बन्धित निकायमार्फत् न्यायिक निरुपण गर्न सकिने विषयलाई कानुनले निर्दिष्ट गरेको मार्गको अवलम्बन गर्नुको सट्टा सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरी न्यायपालिकाको निष्पक्षता र सक्षमतामा नै शंका उब्जन सक्ने भाषाशैलीको प्रस्तुति उचित मान्न सकिँदैन।’
राज्यका जिम्मेवार निकाय तथा पदाधिकारीहरुले विधिको शासनको अक्षरस पालना गर्न र अदालतको स्वतन्त्रतामा आँच पुग्ने गरी यसरी अभिव्यक्तिहरु नदिन नेपाल बार एशोसिएशनले ध्यानाकर्षण गराएको छ।
न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रता नै न्याय प्रणालीप्रतिको जनआस्थाको मूल आधार स्तम्भ हो भन्ने नेपाल बार एशोसिएशनको मान्यता रहेको भन्दै न्यायपालिकाको स्वतन्त्रताको पक्षमा नेपाल बार एशोसिएशनले सदैव उभिने भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।