काठमाडौं– विशेष अदालतले हिरासतमा रहेको व्यक्तिसँग घुस लिएको आरोप लागेकी महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसहित तीन जनालाई भ्रष्टाचार मुद्दामा सफाई दिएको छ।
न्यायाधीशहरु यमुना भट्टराई, बालचन्द्र वास्तोला र खुशीप्रसाद थारुको इजलासले उनीहरुलाई सफाई दिने फैसला सुनाएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसहित तीन जनाविरुद्ध २०७८ असार ३१ ग्ते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनि ६० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरी हवल्दार श्रेष्ठ, श्रेष्ठको लागि पैसा लिने अनिश जोशी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्काविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले प्रहरी हवल्दार श्रेष्ठसँग ६० हजार रुपैयाँ बिगो र कैदको सजाय माग गरेको थियो। विशेषले उनीहरुले घुस लिएको कुरा पुष्टि गर्न नसकेको भन्दै सफाई दिएको हो।
थुनामा रहेका व्यक्ति छुटाउन पैसा लिने अनिश जोशी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्कासँग ३०/३० हजार बिगो माग गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।