काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले सार्वजनिक बहस (लाइभ डिबेट) गर्न आह्वान गर्दा सत्ता गठबन्धनका नेताहरू भागेको टिप्पणी गरेका छन्।
गृहजिल्ला झापाको सुरुङ्गामा बिहीबार चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनका नेताहरूसँग बहस गर्ने अजेन्डा नभएकाले भागेको आरोप लगाए।
‘देशका लागि के गर्ने भनेर गठबन्धनका नेतासँग बहस गर्न चाहन्छु। सार्वजनिक बहस गरौँ। एमाले के गर्न चाहान्छ म भन्छु, गठबन्धन के गर्न चाहन्छ तपाईँहरू भन्नुहोस्, सँगै बसेर छलफल गरौँ भनेको उहाँहरूको भागरेभाग भयो,’ उनले भने, ‘बहस गर्न तयार हुनुभएन। बहस गर्नु हुन्न उहाँहरू, किनभने उहाँहरूसँग बहस गर्ने अजेन्डा नै छैन। देश बनाउने मुद्दा छैन। यो गठबन्धन नै देश बिगार्ने उद्देश्यले बनेको हो।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कात्तिक १ गते प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन आग्रह गरेका थिए। तर, त्यो सम्भव भएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।