काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलित हौं भन्ने कुरालाई मनबाटै हटाउन सुझाव दिएका छन्।
बिहीबार झापामा नेपाल उत्पीडित जातिय मुक्ति समाजद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एउटा कुरा हामीले मनबाट हटाउनुपर्छ कि हामी दलित हौं। हामी भावनामा जानुहुँदैन। आरक्षणबाट पौडी खेलिँदैन।’
उनले बाहुन होस् कि दलित आगोले भेटाएपछि पोल्ने, पानीले भेटाए बगाउने उदाहरणा प्रस्तुत गरे। ओलीले भने, ‘आफैंले पौडी खेल्न सिकेनौं भने योग्यता विकास गरेनौं भने। हामीले आरक्षणको व्यवस्था गरेका छौं। आरक्षणमा मात्र भर पर्न हुँदैन। छोराछोरी मज्जाले पढाउनुहोस्। डा. इन्जिनियर, ओभरसियर के–के बनाउनु छ बनाउनुहोस्। आरक्षण छँदैछ किन पढ्ने ब्रो भनेर कसरी हुन्छ?’, उनले भने, ‘आरक्षणबाट तपाईं इन्जिनियर बन्नै सक्नु हुँदैन। पढ्नैपर्छ। हामीले केही वर्ष, केही समयका लागि कानुनमा प्रबन्ध गरेका छौं। यो धेरै पछाडी पारिएको हुँदा अघाडि बढ्नका लागि सहुलियत होस् भनेर हो।’
उनले योग्यता, क्षमताको विकास गर्नु पर्नेमा जोड दिए। उनले आफू समानतावादी सिद्धान्तमा विश्वास गर्ने व्यक्ति रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।