धनगढी– नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले नेकपा (एमाले) का उम्मेदवारहरूले झुठा योजना देखाएर मत मागिरहेको बताएकी छिन्।
कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा १ का चार स्थानमा आयोजित चुनावी सभाहरूलाइ सम्बोधन गर्दै उनले बहुमत प्राप्त गरेर सरकार चलाउन नेतृत्व गरेको एमालेले जनताका पक्षमा काम गर्न नसकेको जिकिर गरिन्।
बुधबार कैलारी गाउँपालिका वडा नम्बर ९ र ६, धनगढी उपमहानगरपालिका वडा नम्बर १४ र १२ मा आयोजित चुनावी सभामा सम्बोधन गरेकी डा देउवाले एमालेको चुनाव चिन्ह सूर्य अन्धकार भएर गइरहेको बताइन्।
‘बहुमत प्राप्त गरेर सरकार चलाउन नेतृत्व गरेको एमालेले जनताका पक्षमा काम गर्न सकेन। अहिले सूर्य अन्धकार भएर गयो,’ उनले भनिन्।
प्रधानमन्त्रीपत्नीसमेत रहेकी डा देउवाले दिएका पछिल्ला अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालहरूमा विभिन्न टिप्पणी भइरहेको छ। यसैबीच, उनले बुधबार एमालेको चुनाव चिन्ह सूर्य अन्धकार भइरहेको टिप्पणी गरेकी हुन्।
उनले कांग्रेस जनताको पक्षमा काम गर्ने पार्टी भएको दाबी गर्दै आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरिन्।
नेतृ देउवाले गठबन्धन दलबाट कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवार रहेका कांग्रेसका नेता डिल्लीराज पन्त विकास प्रेमी नेता भएको बताउँदै उनको पक्षमा मत मागेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।