जनकपुरधाम– नेपाली कांग्रेसको मधेस प्रदेश निर्वाचन परिचालन समितिले निर्वाचन सामाग्री वितरणको अभियान सुरु गरेको छ। प्रदेश उपसभापति चन्द्रशेखरकुमार यादवको संयोजकत्वमा गठित उक्त समितिको प्रतिनिधिमण्डलले प्रदेशका ३२ वटा प्रतिनिधि सभा र ६४ वटै प्रदेश सभा निर्वाचन क्षेत्रहरूमा पुगेर सामग्री वितरण गर्नेगरी अभियान थालेको हो।
बुधबार प्रतिनिधिमण्डलले कांग्रेसका केन्द्रीय सहमहामन्त्री तथा धनुषा क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महेन्द्र यादव, धनुषा–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका रामकृष्ण यादव तथा धनुषा क्षेत्र नं ३ (क) बाट प्रदेश सभा उम्मेदवार रामसरोज यादवसँग भेटघाट गरी प्रचार सामग्री हस्तान्तरण गरेको छ।
भेटघाटका क्रममा प्रतिनिधिमण्डलले उम्मेदवारहरूलाई पार्टीको झण्डा र दोसल्ला ओडाएर सम्मान तथा कांग्रेसको मधेस कार्यसमितिले ल्याएको घोषणापत्र हस्तान्तरण गर्दै जितको शुभकामना दिएको थियो।
परिचालन समितिका संयोजक यादवले मंसिर ४ गतेको चुनावलाई लक्षित गर्दै यो अभियान थालेको बताए। अबको केही दिनभित्रै मधेस प्रदेशमा पर्ने सबै निर्वाचन उम्मेदवार तथा कार्यकर्ताहरूलाई प्रत्यक्षरुपमा भेटेर शुभाकामना तथा निर्वाचन सामाग्री हस्तान्तरण गर्ने बताए।
परिचालन समितिको यो अभियानले मधेसमा कांग्रेसका उम्मेदवारहरूको मनोबल थप बढ्ने र उम्मेदवार र पार्टीको संरचनाको अन्तरसम्बन्ध स्थापित गर्न सहयोग हुने विश्वास रहेको उनले बताए। यो अभियानले पार्टीका उम्मेदवार नभएका ठाउँमा समानुपातिक मत बढाउन सहयोग पुग्ने उनको भनाइ छ।
उक्त प्रतिनिधिमण्डलमा संयोजक यादव, कांग्रेस मधेस प्रदेश प्रचार प्रसार विभागका प्रमुख निकेशकुमार गुप्ता तथा समितिका सदस्यहरू ममता महतो, आनन्द शर्मालगायत छन्।
निर्वाचनमा मधेस प्रदेशमा कांग्रेसबाट प्रतिनिधि सभातर्फ ३२ मध्ये १९ उम्मेदवार रहेका छन्। त्यस्तै, प्रदेश सभातर्फ ६४ मध्ये २६ सिटमा कांग्रेसले प्रतिस्पर्धा गरिरहेको छ। बाँकी स्थानमा कांग्रेसले गठबन्धनका साझेदार दलका उम्मेदवारलाई समर्थन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।