काठमाडौं- ‘चुनावी प्रचारको दौरान तपाईंहरुको घरदैलोमा आइपुगेकी छु। यो क्षेत्रमा म आफ्नै पहिचान बनाउन मैदानमा उभिएकी महिला हुँ। सांसदको रुपमा मैले पाँच वर्षमा धेरै काम गरेकी छु। अबको पाँच वर्ष यो क्षेत्रको सेवा गर्ने अवसर दिनुहोस्। प्युठानी जनतासामु मोहनविक्रमको नामबाट होइन, आफ्नै पहिचान बनाउन चाहन्छु।’
दोस्रो पटक प्रतिनिधि सभामा निर्वाचित भएर संसद् भवन पुग्ने योजनाका साथ चुनावी अभियानमा रहेकी दुर्गा पौडेल मतदातासँग यसै भनेर भोट माग्ने गर्छिन्।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेको सर्मथनमा प्युठानबाट संसद् भवन पुगेकी दुर्गा यस पटक एमाले विरुद्ध सोही क्षेत्रमा उम्मेदवार छिन्। यही कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि उनलाई कान्छी भाउजुको भष्मासुर अवतार भनेर गाली-गलोज समेत गरे।
राजनीतिक रुपमा ओलीभन्दा सिनियर मसालका अध्यक्ष मोहनविक्रम सिंहकी कान्छी श्रीमती भनी गरेको ‘कान्छी भाउजु’को टिप्पणीले दुर्गालाई मनमा बिझेको छ। उनले उक्त कुरा सार्वजनिक कार्यक्रम र आफ्ना मतदातालाई पनि भनेकी छन्।
घरदैलामा व्यस्त रहेकी उनले नेपाल लाइभसँग टेलिफोन कुराकानी हुँदा भनिन्, ‘गठबन्धन भएकाले सजिलै चुनाव जित्ने आधार देखिन्छ।’
मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार रहेकी दुर्गा अहिले मतदाता समक्ष विभिन्न प्रतिवद्धता लिएर मत माग्न जाने गर्छिन्।
उनी हरेक भेटघाटमा आफ्नो निर्वाचन क्षेत्रका समस्या समाधान गर्ने प्रतिवद्धता जनाउँछिन्। बाटोघाटो, स्वास्थ्य संस्था, विद्यालय लगायतका पक्षमा सुधार गर्न प्रतिनिधि सभामा आवाज उठाउने उनको भनाइ छ। सांसदमा हुँदा थालनी गरेका कामलाई पूर्णता दिन पुःन उम्मेदवारी दिएको उनी बताउँछिन्।
अहिले गठबन्धनबाट उम्मेदवारी दिएकाले चुनावी माहोल आफ्नो पक्षमा भएको दावी गर्छिन् उनी।
दुर्गा २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य भएकी थिइन्। २०७४ मा प्युठानबाट चुनाव जितेसँगै दुई पटक सांसद बनेको अनुभव छ। हाल उनी तेस्रो पटक सांसद बन्ने प्रयासमा छिन्।
दुर्गा विद्यार्थी संगठन र महिला संघबाट राजनीतिमा सक्रिय भएकी हुन्। त्यसमाथि उनमा मोहनविक्रमको राजनीतिको ठूलो छाप छ।
दुर्गा ओखरकोट प्युठानका बिष्णुप्रसाद पौडेल र वुद्धदेवी पौडलको कोखबाट २०२८ असोज ५ गते कपिलवस्तुमा जन्मिएकी हुन्। उनी सानै छँदा बुबा नोकरीका लागि बर्मा गएका थिए। दुर्गा पनि बुबाको साथमा बर्मा गइन्। २०३८ सालमा १० वर्षको उमेरमा बर्माबाट नेपाल फर्किइन्।
बर्माबाट फर्केपछि दुर्गा कपिलवस्तुको श्रीनगरस्थित कनकमुनी माविमा भर्ना भएर माध्यमिक तहसम्मको अध्ययन गरिन्। अध्ययनको क्रममा विद्यालयले अनियमितता गर्यो। विद्यालयको अनियमितता विरुद्ध दुर्गा आन्दोलनमा उत्रिन्। आन्दोलन गरेकाले उनलाई विद्यालयले एसएलसीको फारम भर्न दिएन।
यसबीचमा उनको विभिन्न राजनीतिक र संगठनात्मक गतिविधिमा संलग्नता बढेकाले धेरै समयसम्म नियमित पढाइ छुट्यो। पछि उनले भारतको उत्तर प्रदेशबाट म्याट्रिक, आइए र बिएका परीक्षाहरू प्राइभेट रूपले दिइन्।
२०४० सालदेखि अनेरास्ववियू छैटौंबाट राजनीतिक यात्रा प्रारम्भ गरिन्। २०४४ मा कपिलवस्तुमा गठन भएको जिल्ला विकास परिषद्को नेतृत्वमा सुरु भएको आन्दोलनमा लाग्दा तीन महिना जेलमा परिन्। जेलमा मोहनविक्रम सिंह गिरफ्तार भएर चार वर्षसम्म बस्दा गरेका संघर्षहरूबारे त्यहाँका बन्दीहरूबाट जानकारी पाइन्। उनमा सिंहप्रतिको आकर्षण बढ्दै गयो।
२०४६ सालमा गोरखपुरमा भएको अखिल नेपाल महिला संघको दोस्रो सम्मेलनमा दुर्गा केन्द्रीय समितिमा चुनिएकी थिइन्।
२०५१ सालमा तत्कालीन सरकारले कपिलवस्तुको तिलौराकोटस्थित सग्रहवाको जङ्गलको १६० बिघा जमिन एक जना व्यक्तिका नाममा एग्रोफरेस्ट्रीका लागि दर्ता गरेको बदनियतपूर्ण निर्णयले दुर्गालाई जनताका बीचमा काम गर्ने आत्मविश्वास जुटाइदियो। उनी उक्त दर्ता खारेजीका विरुद्ध गरिएको आन्दोलनकी अध्यक्ष थिइन्।
चार वर्षसम्म चलेको उक्त आन्दोलनको परिणामस्वरूप सर्वोच्च अदालतले त्यो दर्ता खारेज गरिदियो।
२०५७ वैशाखमा नेकपा (मसाल) का नेता मोहनविक्रम सिंहसँग उनको विवाह भयो। विवाहपछि आफ्ना पतिबाट थप प्रेरणा पाइन्। त्यतिबेला अखिल नेपाल महिला संघको कोषाध्यक्ष, उपाध्यक्ष, कार्यवाहक अध्यक्ष र अध्यक्ष हुँदै १० वर्षसम्म महिला आन्दोलनमा सक्रिय भइन्। यहीबीचमा गर्भावस्थाका कारण अध्यक्ष पदबाट राजीनामा दिइन्। बालबच्चा हुर्केपछि राष्ट्रिय जनमोर्चामा सक्रिय भएर काम गर्न थालिन्।
संविधान सभा सदस्य निर्वाचन २०७० मा उनले राष्ट्रिय जनमोर्चाका तर्फबाट समानुपातिक सदस्य रहेर संविधान निर्माणको जिम्मेवारी निर्वाह गरिन्। प्रतिनिधि सभा निर्वाचन २०७४ मा प्युठानबाट निर्वाचित भइन्।
उनले त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेकी छन्। अहिले प्युठानको कम्युनिस्ट आन्दोलनको इतिहासबारे शोधपत्र तयार गर्दैछिन्। उनी राज्यको निर्देशक सिद्धान्त, अनुगमन तथा मूल्यांकन समितिमा समेत कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।