काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादको ढोङ गरेको आरोप लगाएका छन्।
चुनावी सभालाई सम्बोधन गर्न दार्चुला पुगेका अध्यक्ष प्रचण्डले उक्त आरोप लगाएका हुन्। भारतसँग विवादमा रहेको जमिन समेटेर नेपालको नक्सा जारी गर्दा सबैको योगदान रहेको स्मरण गर्दै प्रचण्डले ओलीले भ्रम छरेको पनि बताएका छन्।
‘तपाईंहरु कोही भ्रममा नपर्नु होला। केपी ओलीले हैन नयाँ नक्सा बनाएको। म पनि अध्यक्ष थिएँ त्यही पार्टीको। म समेत अत्याधिक बहुमत स्थायी कमिटीले यो नक्सा बनाउनु पर्छ भनेपछि बाध्य भएर बनाएको हो,’ प्रचण्डले भने, ‘त्यो बनाएको केही समयपछि आत्मसमर्पण गरेका थिए ओलीले। जुन अहिले राष्ट्रवादको ढोङ गर्छन्। कति अपारदर्शी छन्, कति पाखण्डी छन् भनेर केही समय पछिका गतिविधि हेर्दा थाहा हुन्छ। नक्सा पास गरेर मात्र हुँदैन भारतसँग कुटनीतिक तबरले तुरुन्तै वार्ता र संवाद गरेर यो समस्याको स्थायी समाधान गर्नुपर्छ भन्दा कहिले आँट नगर्ने कायर हो ओली।’
यस्तै, चुनाव आएपछि ओली दार्चुला आएर तुइनबाट मरेको वा अर्को दुर्घटनामा परेर सहिद भएकोलाई सम्झेर गोहीको आँसु झारेको प्रचण्डले आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।