काठमाडौं– नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले नेकपा (एमाले)का अध्यक्ष केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कारण मुलुकको संविधान खतरामा रहेको बताएका छन्।
बुधबार सत्ता गठबन्धनले दार्चुलाको गोकुलेश्वरमा आयोजना गरेको बृहत शान्ति चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
दार्चुलामा गठबन्धनको तर्फबाट उम्मेदवार रहेका बडूले कांग्रेस, माओवादी केन्द्र र एमालेका इमान्दर नेता–कार्यकर्ता अग्रगमनको पक्षमा रहेको बताउँदै यी एकैठाउँमा आउनुपर्ने बताए।
‘अहिले केपी ओलीको गठबन्धन को सँग छ, तपाईंहरूलाई थाहा छ? संविधानका विरुद्ध रहेका शक्तिहरू कमल थापा र राजेन्द्र लिङ्देनसँग उहाँको गठबन्धन छ। यसले प्रमाणित गरेको छ। यो मुलुकको संविधान अझै खत्रामा छ’, उनले भने।
बडूले संसद्बाट दुई–दुई पटक पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले रोकर राखेकामा आपत्ति प्रकट गरे।
राष्ट्रपतिले विधेयकमा हस्ताक्षर नगर्दा अहिले पनि संविधान खतरामा रहेको नेता बडूले दाबी गरे। उनले यो चुनाव
प्रतिगमनकारी र संविधानविरोधीहरूले गरेको षड्यन्त्र समाप्त संघर्ष भएको बताए। संविधानविरोधी एमालेसँग चुनावी अभियानमा आउने कुनै नैतिक नभएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।