काठमाडौं– निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने भएकाले साना वा ठूला दल भन्ने प्रश्न नआउने स्पष्ट पारेका छन्।
निर्वाचन आयोग र नेपाल कानून समाजले आयोजना गरेको ‘निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा उनले आचारसंहिता सबैलाई समानरुपमा लागू हुने बताए।
राजनीतिक दलका नेताहरूको सहमतिमा बनाइएको आचारसंहिता भएकाले सबैले पूर्णरूपमा कार्यान्वयन गर्नेमा आयोग विश्वस्त रहेको उनको भनाइ थियो।
आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उनले बताए।
‘आचारसंहिता निर्वाचनको कार्यक्रममा सहभागिता जनाउने जोसुकैलाई पनि लागू हुन्छ’, उनले भने, ‘यसमा साना र ठूला दल वा नेता भन्ने हुँदैन।’
दलका प्रतिनिधिको सहमतिले आचारसंहिता बनेको बताउँदै उनले यो कार्यान्वयन गर्नु दल र उम्मेदवारहरूको कर्तव्य हुने बताए । आचारसंहिता कार्यान्वयनका लागि सरोकारवाला निकायसँगै कर्मचारीहरू पनि चनाखो हुनुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।