काठमाडौं– निर्वाचन आयोगले निर्वाचनमा मतदाता परिचय पत्रमा नाम भएका तर परिचयपत्र हराएको वा नासिएको भए मतदाताले परिचय खुल्ने सरकारी कागाजत देखाए मतदान गर्न पाउने बताएको छ। आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै मतदाता परिचयपत्र वा नेपाली नागरिताका अलवा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वा सवारीचालक अनुमतिपत्र भए पनि मतदान गर्न पाउने बताएको हो।
‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
मतदातालाई परिचयपत्र वितरण भएको भएता पनि कतिपय मतदाताको परिचयपत्र हराएको र नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।