धनगढी– चुनावी अभियानमा रहेका नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आइतबारदेखि सुदूरपश्चिमको कैलालीस्थित धनगढीमा छन्।
देउवा गृहजिल्ला डडेल्धुरामा चुनावी सभाहरूमा सहभागी भएर धनगढी पुगेका हुन्। देउवा कार्यकर्ता तथा पार्टीका नेताहरूसँग भेटघाटमा व्यस्त छन्। धनगढीस्थित आफ्नै निजी निवासमा बसिरहेका प्रधानमन्त्री देउवाले जिल्लाभरीकै केही नेता, कार्यकर्तालाई बोलाएर भेटघाट र छलफल गरिरहेका छन्।
‘डडेल्धुराबाट फर्केर प्रधानमन्त्री देउवा अहिले धनगढी निवासमा हुनुहुन्छ। बैतडी र दार्चुलाको कार्यक्रममा सहभागी भएपछि काठमाडौं फर्कनुहुन्छ’ कांग्रेस कैलालीका सचिव नृप सुनारले भने। अब प्रधानमन्त्री देउवाले बुधबार बैतडी र दार्चुलामा हुने चुनावी सभाको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए ।
दार्चुला र बैतडीमा हुने गठबन्धनको संयुक्त चुनावी सभालाई प्रधानमन्त्रीसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।
उम्मेदवारी चयनका विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकालाई निवासमै बोलाएर प्रधानमन्त्रीले छलफल गरिरहेको कांग्रेस कैलालीका सचिव सुनारले बताए।
सचिव सुनारका अनुसार कैलाली क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीलाई पनि प्रधानमन्त्रीले भेटेका थिए। जोशीलाई प्रधानमन्त्रीले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको जनाइएको छ। यद्यपि, उनले प्रधानमन्त्रीसँग भेटघाट सकेर फर्केपछि सामाजिक सञ्जालमार्फत आफनो उम्मेदवारी यथावत रहेको जानकारी गराएका छन्।
प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई भेटेर निर्वाचनमा शसक्त रुपमा खट्न निर्देशन दिएको जनाइएको छ। उनले चुनावमै केन्द्रित रहेर प्रधानमन्त्री देउवा कार्यकर्ता छलफलमा व्यस्त रहेको बताइएको छ।
धनगढी उपमहानगरपालिका पर्ने क्षेत्र नम्बर ५ मा कांग्रेसबाट डिल्लीराज पन्त र ५ को प्रदेश सभा २ बाट प्रदेश सभा सदस्यमा प्रकाश देउवा, प्रदेश सभा १ मा माओवादी केन्द्रका रमेश धामी उम्मेदवार छन्। क्षेत्र नम्बर ५ मा कांग्रेसका पूर्वनेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। २०७० सालमा भएको उपनिर्वाचनमा तत्कालीन क्षेत्र नम्बर रहेको यहाँ काँग्रेसबाट ओझा विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।