काठमाडौं– डडेल्धुराका स्वतन्त्र उम्मेदवार सागर ढकालले निर्वाचनमा प्रचारप्रसारमा रोक लगाएको आरोप लगाएका छन्।
उनले उनले सामाजिक सञ्जालमार्फत डडेल्धुरामा शेरबहादुर देउवाको कार्यक्रममा खुलमखुला नगरप्रमुख, वडाध्यक्षहरू नै गएर निर्वाचन आचारसंहिता मिचेको बताउँदै आफूलाई भने रोक लगाइएको आरोप लगाएका छन्।
‘मलाई जोगाइदिनुस्,’ भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘अब जनता गुहार्नुबाहेक केही बाँकी रहेन। सबै प्रशासन शेरबहादुरको मुनि छ। कुरा गर्नु–नगर्नु बेकार छ। डडेल्धुरामा मलाई प्रचारप्रसारमा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुला नियम–कानुन उल्लङ्घन गर्दा पनि आँखा बन्द गरेको प्रशासन मैले हर्क साम्पाङले जस्तोगरी माइकिङ गर्न पनि दिएको छैन। मलाइ रोकेको छ।’
ढकालले कांग्रेसले झण्डा र माइकिङ गरिरहेको तर यति हुँदा पनि निर्वाचन आयोगले आँखा चिम्लेको आरोप लगाएका छन्।
‘जनप्रतिनिधिहरू नै दलको कार्यक्रममा गएर निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्,’ उनले नेपाल लाइभसँग कुरा गर्दै भने ‘४७ वडा गाडी एउटै कार्यक्रममा प्रयोग गरिएको छ। यो निर्वाचन आचारसंहिता उल्लंघन भएन र?’
प्रधानमन्त्री देउवाले हेलिकोप्टर उडाउँदासमेत निर्वाचन आयोगले रोक नलगाएको ढकालको आरोप छ।
‘शेरबहादुरले कान फुट्नेगरी हेलिकप्टर चलाउँदा केही भएन। मलाई माइकिङ गर्न रोक लगाउनु गलत हो,’ उनले थपे।
यता, डडेल्धुराको जिल्ला प्रहरी कार्यालयले भने ढकालले लगाएको आरोप झुटो भएको दाबी गर्दै उनले निर्वाधरुपमा प्रचारप्रसार गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।