रुपन्देही– सत्ता गठबन्धनकै साझा उम्मेदवारको रुपमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनावी प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गरेका छन्।
उनले रुपन्देही क्षेत्र नम्बर १ को उम्मेदवार रहेका उनले सोमबार घोषणापत्र सार्वजनिक गरेका हुन्।
नेता भुसालले गौतम बुद्धको मावली देवदहलाई विकासको मुख्य केन्द्रविन्दू मानेर समग्र क्षेत्रको विकास गर्ने संकल्पका साथ उम्मेदवारी दिएको बताएका छन्।
‘यस क्षेत्रको विकासका लागि प्रमुख विन्दू भगवान् गौतम बुद्धको मावली देवदहको हो। यसमो उत्खनन् गरी युनेस्कोको विश्व सम्पदा सूचीमा राख्न पहल गर्नेछु। साथै, लुम्बिनी बौद्ध विश्वविद्यालय सञ्चालनमा विशेष जोड दिँदै समग्र क्षेत्रको विकास गर्नु नै मेरो मुख्य उद्देश्य हो,’ घोषणापत्र सार्वजनिक गर्दै उनले भने।
भुसालले आफ्नो क्षेत्रमा पूर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने सडक पूर्वाधार निर्माण गर्ने अर्को प्रमुख लक्ष्य रहेको बताए । सो क्षेत्रको शिक्षा, स्वास्थ, खानेपानी, कृषि, सञ्चार, शान्ति सुरक्षा, संस्थागत बिकासलगायत विषयलाई प्रमुख ध्यान दिइएको उनले जानकारी दिए।
विशेषगरी, रुपन्देही १ मा सिँचाइ कृषि, तटबन्ध, शिक्षा, स्वास्थ्यलगायत आर्थिक विकास र भौतिक पूर्वाधार विकासमा विशेष जोड दिइने घोषणापत्रमा उल्लेख छ। साथै, कृषि उत्पादनमा बृद्धि गरी उत्पादित कृषि उपजलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट खाडी लगायतका मुलुकमा निर्यात गरेर आर्थिक उन्नति गर्नमा पहल गरिनेसमेत घोषणापत्रमा लेखिएको छ।
पालिकास्तरीय अस्पताल निर्माण गर्ने र प्रत्येक वडामा स्वास्थ्य चौकी बनाउने, अव्यवस्थित बसोबासी र भूमिहीनको समस्या सधैँका लागि अन्त्य गर्नेसमेत भुसालले प्रतिबद्धता जनाएका छन्।
‘सुरु भएका सडक निर्माण सक्ने, स्तरोन्नति गर्ने र देवदहलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोड्ने, हरेक वडामा बाल उद्यान र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउनेसमेत घोषणापत्रमा उल्लेख छ ।
साथै, युवालाई सीपमूलक तालिम दिने, सीप सिकेका युवाहरूलाई रोजगारीमा जोड्ने, आफ्नो निर्वाचन क्षेत्रभित्र औद्योगिक क्षेत्र र देवदह मण्डप बनाउने उल्लेख छ।
हेर्नुहोस् पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।