काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग कुनै नीति, कार्यक्रम र योजना नभएको आरोप लगाएका छन्। सोमबार बाग्लुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
‘गठबन्धन मिलेर निर्वाचनमा होमिए पनि आ–आफ्नै घोषणापत्र छ। उनीहरूले सरकार बनाउँदा कसको घोषणापत्र कार्यान्वयन गर्छन्?’, ओलीले प्रश्न गरे, ‘गठबन्धन दलहरूसँग नीति, सिद्धान्त र कार्यक्रम छैनन्। जनता अल्मलाउने, सरकार कब्जा गर्ने। कब्जा गरेपछि जनतातर्फ नहेर्ने।’
यसपटकको निर्वाचन सामान्य नभई विशेष अर्थमा रहेको बताउँदै उनले यो निर्वाचनले देशको भविष्यको फैसला गर्नेसमेत बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले जेष्ठ नागरिक र महिलाहरूलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने नीति एमालेले लिएका कारण मुलुकमा यसैको सरकार आवश्यक भएको दाबी गरे।
उनले एमाले नेतृत्वको सरकार बने पूर्व–पश्चिम राजमार्गको स्तर उन्नति गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।