काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन्। सोमबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धन दलहरुलाई प्रधानमन्त्रीको उम्मेदवार अगाडि सार्न चुनौती समेत दिए।
उनले भने,‘म प्रधानमन्त्री बन्छु। म गठबन्धनको निर्णय सुन्न चाहन्छु। जनता गठबन्धनको निर्णय सुन्न चाहन्छन्। को हो तपाईंहरुको प्रधानमन्त्री? कांग्रेसका थुप्रै मान्छेले मै प्रधानमन्त्री भनिराखेका छन्। माओवादीका पनि अरुले नभने पनि प्रचण्डले भनिराखेका छन्।’
उनले विपक्षी दलहरुबाट कोही पत्रकार, कोही कलाकार कोही बुद्धिजीवी सडकमा आएको भन्दै गठबन्धनमा विचार र गन्तव्य नभएको आरोप लगाए। उनले गठबन्धन दलहरुले एउटै घोषणापत्र नबनाएर फरकफरक बनाएको बताउँदै कुनै घोषणापत्र पनि कार्यान्वयन नहुने दावी गरे।
उनले भने,‘धान पनि मिसाउने, चामल पनि मिसाउने,कनिका पनि मिसाउने अनि पकाउने? कसको कार्यक्रम लागू गर्ने? त्यस कारण यो दिशाविहीन छ।’
उनले गठबन्धन सत्ता टिकाउने र जनता भुल्याउने खेलमा लागेको आरोप लगाउँदै उनले ५/६ तिर फर्किएको मिसन, भिजन, थिति नभएको गठबन्धनलाई हराउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।