काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार नगर्न आग्रह गरेका छन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले 'नो नट अगेन' भन्न पाइने तर गालीगलोजको भाषामा अर्को उम्मेदवारको चरित्र हत्या गर्ने काम नगर्न सबै उम्मेदवारहरुलाई पुनः सचेत गराए।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई द्वेषपूर्ण, घृणास्पद अभिव्यक्ति दिएर दूषित नपार्न भन्दै आयोगले स्पष्टीकरण सोधेको दावी गरे। उनले विज्ञहरुलाई पनि निर्वाचनमा गालीगलोजको भाषा प्रयोग नगर्न उम्मेदवारलाई सुझाव दिन आग्रह समेत गरे।
‘तपाई नो नट अगेन भन्नूस अथवा नो नेभर अगेन भन्नूस्, तपाईँ इलेक्ट अगेन भन्नूस् अथवा इलेक्ट अगेन एण्ड अगेन भन्नूस,’ उनले भने, 'इलेक्ट वान्स अगेन भन्न पनि पाइन्छ। सबैथोक भन्नूस्। तर सभ्य भाषामा भनिदिनूस्। कसैको चरित्र हत्या नगर्ने गरी भनिदिनूस्।’
निर्वाचनलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, घृणास्पद अभिव्यक्तिले खण्डित गर्ने र दूषित पार्ने नगरिदिनूस् भनेर आयोगले भनेको उनले दावी गरे।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चार माध्यामहरुले निर्वाचन आचारसंहिता पालना गरे/नगरेको अनुगमन गर्ने काम आयोगको नभई प्रेस काउन्सिल नेपालको भएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।