काठमाडौं- निर्वाचन आयोगले तोसिमा कार्की विरुद्ध सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश विरुद्धको भ्याकेटको निवेदनलाई पेसी तोकिएको छ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो।
गोला प्रथाद्वारा तोकिएको पेसीको २२औं नम्बरमा मुद्दा तोकिएको छ। मुद्दाको पेसी अन्तिममा तोकिएकाले सुनुवाइको पालो आउने सम्भवना न्यून रहेको देखिन्छ।
सर्वोच्च अदालतले ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश कात्तिक १५ गते जारी गरेको थियो।
सर्वोच्चले कार्की लाभको पदमा बसेको भनी व्याख्या गर्न नमिल्ने भन्दै उम्मेदवार खारेजी गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु भन्दै उनको उम्मेदवारी कायम गरिदिएको थियो।
न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो। अदालतले उम्मेदवारी खारेज गर्नुपर्ने कारणबारे आयोगसँग लिखित जवाफ समेत मागेको थियो।
सर्वोच्चले आफ्नो निर्णय कार्यान्वयनमा रोक लगाएपछि आयोग शुक्रबार भ्याकेटको निवेदनसहित सर्वोच्च पुगेको थियो। आइतबार दर्ता भएको उक्त भ्याकेटको निवेदन पहिलो सुनुवाइका लागि पेसी तोकिएको हो।
सोमबार उक्त निवेदन सुनुवाइ गर्न नभ्याएमा अर्को दिनका लागि सर्नेछ। मंसिर ४ गतेको निर्वाचनका लागि उनी निर्वाचन प्रचारका क्रममा रहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।